बाँसगढी नपा–४ शङ्खरियाका ४० वर्षीय फुलराम थारू उपचार अभावमा १८ वर्षदेखि गोठमा गाईगोरू नजिकै बाँधिएर बस्न बाध्य छन् ।
घरका सदस्यले उनलाई रहरले नभइ आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेपछि १८ वर्षदेखि बाँधेर राखेका छन् ।
१८ वर्ष अघिसम्म उनको दैनिकी सामान्य थियो । तर, अचानक उनको बानी व्यवहारामा सामान्यभन्दा फरक देखिन थाल्यो ।
एक सुरमा हिँड्ने कसैले बोलाई वा चलाई नजिक भेटाएको बस्तु, हतियारले आक्रमण गर्न थालेपछि बाँधेर राख्नुको विकल्प नरहेको बुबा आइतवारी थारूले बताए ।
चारैतिर खुल्ला गोठको एकातिरको खम्बामा उनको गोडा सिक्रिले बाँधिएको छ । बस्न र सुत्नका लागि छेउमै दुई ओटा काठको पटरा राखिएको छ ।
उनी उठेर हिँड्न परे आधा मिटर वरिपरी मात्रै हिँडन सक्छन् । सुत्न परे छेउमै राखएको दुई काठको पटराकै सहरा लिनुको विकल्प छैन ।
फुलराम १८ वर्ष देखि घाम, झरीसँगै लामखुट्टे, सर्पलगायत किटपतिङ्गर नभनी गोठमै बस्न बाध्य छन् ।
फुलाराम अरूले कुराकानी गरेको बुझेपनि कुनै प्रतिक्रिया दिँदैनन् । भोक लागेको अवस्थामा ‘आमा भोक लाग्यो’ भन्दै खाना माग्ने गरेको फुलरामकी आमा पार्वती थारूले बताइन् ।
घरमा सदस्यले चाहेर पनि असुरक्षाका कारण आफूसँगै कोठामा राख्न र सरसफाई गर्न नसकेको थारूले बताइन् ।
सुरूवातमा फुलरामलाई मानसिक समस्या देखिन थालेपछि उपचार पनि गराएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण नेपालञ्जभन्दा बाहिर उपचार गर्न नसकेको र सम्पत्तिको नाममा सुकुम्वासी आयोगले दिएको पाँच कठ्ठा जमिन र बस्नलाई सानो छाप्रो मात्र रहेको छ । दिसापिसाव पनि छेउमै खुल्ला रूपमा गर्न गर्नुपर्ने अवस्था रहेको छ ।
फुलरामको मानसिक अवस्थामा समस्या आउँदासम्म् उनका पत्नी र दुई वर्षको एक छोरा पनि थिए । उनमा मानसिक अवस्था विग्रिएपछि श्रीमतीले अर्को विवाह गरिन् । छोरा घरको व्यवहार धान्न भारतमा मजदुरी गर्छन् ।
बाँसगढी नपा– ४ का वडा अध्यक्ष रजमान थारूले फुलराम मानसिक रोगी रहेको उनको अवस्था हेरी अपाङ्गताको रातो परिचय पत्रको बनाउनका लागि सहयोग बाहेक केहि पनि नगरेको र गर्न पनि नसकिने बताए ।



