INSEC Online

📅 २०८३ जेष्ठ २२

लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार मतदाता थपिए

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार नयाँ मतदाता थपिएका छन् । यो सङ्ख्या २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भन्दा १ लाख ३७ हजार ४३ जना बढी हो ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार लुम्बिनी प्रदेशमा यसअघि ३२ लाख ४९ हजार ६ सय ३७ जना मतदाता थिए । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनपछि १ लाख ३७ हजार ४३ जना नयाँ मतदाता थपिएको बलाउनुभयो । यो सँगै लुम्बिनी प्रदेशमा मतदाताको संख्या ३३ लाख ८६ हजार ६ सय ८० जना पुगेको छ ।

निर्वाचन कार्यालयका सूचना अधिकारी कवँरका अनुसार लुम्बिनीमा १७ लाख १५ हजार १ सय ६३ जना पुररुष, १६ लाख ७१ हजार ४ सय ७९ जना महिला र ३८ जना अन्य मतदाता छन् ।

लुम्बिनीका १२ जिल्लामा मध्ये सबैभन्दा धेरै रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन्। जसमध्ये ३ लाख ४६ हजार २ सय तीन जना पुररुष मतदाता र ३ लाख २६ हजार ३ सय ११ जना महिला मतदाता रहेका छन् ।

दोस्रो जिल्ला दाङमा २ लाख १३ हजार तीन सय पुरुष, २ लाख १ हजार ३ सय तीन जना महिला र तीन जना अन्य समुदायका गरी ४ लाख ३१ हजार ६ सय ६ जना मतदाता रहेका छन् ।

मतदाताका आधारमा बाँके जिल्ला तेस्रो नम्बरमा रहेको छ । बाँकेमा १ लाख ७ हजार १ सय ३९ जना पुररुष, १ लाख ७२ हजार २ सय २३ जना महिलाका र ९ जना अन्य गरी कुल ३ लाख ५० हजार ३ सय ७१ जना मतदाता रहेका छन् ।

त्यस्तै बर्दिया जिल्लामा १ लाख ५९ हजार ३ सय ८७ जना पुररुष, १ लाख ६३ हजार ८ सय ७३ जना महिला र ६ जना अन्य गरी कुल ३ लाख २३ हजार २ सय ६६ जना मतदाता रहेका छन् । त्यस्तै, कपिलवस्तुमा २ लाख ११ हजार ८ सय ४६ जना पुररुष, १ लाख ८४ हजार ४ सय १५ जना महिला र ४ जना अन्य गरी कुल ३ लाख ९६ हजार २ सय ६५ जना मतदाता रहेका छन् ।

त्यसै गरी नवलपरासी (बर्दघात सुस्ता पश्चिम) मा १ लाख २९ हजार १ सय ८३ जना पुररुष, १ लाख २४ हजार ९ सय ७० जना महिला र ४ जना अन्य गरी कुल २ लाख ५४ हजार १ सय ५७ जना मतदाता पुगेका रहेका छन् ।

त्यस्तै गुल्मी जिल्लामा १ लाख १४ हजार ३ सय ३७ जना पुररुष, १ लाख १५ हजार २ सय १० जना महिला र २ जना अन्य गरी कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता पुगेका रहेका छन् ।

त्यस्तै पाल्पा जिल्लामा १ लाख १ हजार ८ सय ९३ जना पुरुष र १ लाख ५ हजार ५ सय ४३ जना महिला गरी कुल २ लाख ७ हजार ४ सय ३६ जना मतदाता छन्। अर्घाखाँचीमा ८७ हजार १ सय ५७ जना पुरुष र ८४ हजार ४ सय ९५ महिला गरी कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेका छन् ।

त्यसैगरी प्युठानमा ८१ हजार ३ सय ६६ जना पुरुष, ८४ हजार ३९ जना महिला र १ जना अन्य गरी कुल १ लाख ६५ हजार ४ सय ६ जना मतदाता पुगेका छन्। रोल्पामा ७४ हजार ६ सय ९० जना पुरुष र ७४ हजार ९ सय ७ जना महिला गरी कुल १ लाख ४९ हजार ५ सय ९७ जना मतदाता छन्।

त्यस्तै प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा सबै भन्दा कम मतदाता छन् । जहाँ पुरुष तर्फ १७ हजार ५ सय ८२ जना र १७ हजार १ सय ९० जना महिला गरी कुल ३४ हजार ७ सय ७२ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीको तथ्यांकमा उल्लेख छ ।

निर्वाचन नजिकदै गर्दा आगामी फागुन २१ को निर्वाचनका लागि प्रदेशमा १ हजार ६ सय ७१ मतदानस्थल र ३ हजार ९ सय ९८ मतदान केन्द्र तोकिएका छन् ।

सबैभन्दा धेरै कपिलवस्तुमा मतदानस्थल २ सय ३५ वटा र ४ सय ९० वटा मतदान केन्द्र, रूपन्देहीमा २ सय ९ वटा मतदानस्थल र ७ सय ३२ वटा मतदान केन्द्र तोकिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कवँरले बताउनुभयो ।

त्यसपछि दाङमा १ सय ५९ वटा मतदानस्थल र ४ सय २ वटा मतदान केन्द्र, प्युठानमा १ सय ५ वटा मतदानस्थल र २ सय ३० वटा मतदान केन्द्र तोकिएको छ । बाँकेमा १ सय ३९ वटा मतदानस्थल र ४ सय वटा मतदान केन्द्र तोकिएका छन् । त्यस्तै बर्दियामा १ सय ५४ वटा मतदानस्थल र ३ सय ७ वटा मतदान केन्द्र तोकिएका छन् ।

त्यसै गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १ सय २२ मतदानस्थल र २ सय ९७ वटा मतदान केन्द्र तोकिएका छन् । त्यस्तै गुल्मीमा १ सय ४५ वटा मतदानस्थल र २ सय ८४ वटा मतदान केन्द्र तोकिएका छन्।

त्यस्तै पाल्पामा १ सय १ वटा मतदानस्थल र २ सय ५१ वटा मतदान केन्द्र तोकिएका छन्। अर्घाखाँचीमा १ सय २ वटा मतदानस्थल र २ सय ९ वटा मतदान केन्द्र तोकिएका छन्। त्यस्तै रोल्पामा ८६ वटा मतदानस्थल र १ सय ८० वटा मतदान केन्द्र तोकिएका छन्। रूकुम पूर्वमा ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र तोकिएको सूचना अधिकारी कुँवरले बताउनुभयो ।

अघिल्लो २०७९ को संसदीय निर्वाचनका क्रममा यो प्रदेशमा १ हजार ६ सय ४९ मतदानस्थल कायम गरिएको थियो भने ३ हजार ८ सय ६१ मतदान केन्द्रहरू स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

रीमा बि.सी

अन्य

भिडियो