चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गरेका छन् ।
अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोडेका हुन् ।
“चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास गरिसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ ।”- डा केसीको विज्ञप्तिमा भनिएको छ ।
उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताए ।
डा केसीले पुस २५ गते इलाम पुगेर अनशन थालेका थिए । अनशनकै क्रममा उनको स्वास्थ्यमा असर देखिएपछि सरकारले डा केसीलाई थप उपचारका लागि यही माघ ३ गते त्रिविवि शिक्षण अस्पताल ल्याएको थियो ।
डा केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो । उनको अनशनको यो १६ औँ सृङ्खला हो ।