सान्नित्रिवेणी गाउँपालिका–४ का सात वर्षीय विकास देवकोटालाई विद्यालयमा कुटपिट गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–१ घरभई नैनेलदेव आधारभुत विद्यालय सियालाका प्रधानाध्यापक ४१ वर्षीय धनराज पाण्डेलाई माघ १७ गते गिरफ्तार गरेको छ ।
कक्षा दुईमा अध्ययनरत देवकोटालाई प्रधानाध्यापक पाण्डेले माघ १५ गते विद्यालयमा कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रअको कुटपिटबाट टाउकोमा चोट लागेका घाइते बालकको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ । देवकोटाको दाहिने कानको जाली नै फुटेको जिल्ला अस्पताल कालिकोटका डाक्टर नहकुल शाहीले बताएका छन् ।
छोराले कपर्दी खेलिरहेका बेला प्रअ पाण्डेले कुटपिट गरेकाले कडा कारबाही हुनुपर्ने माग पीडितकी आमा सर्मीला देवकोटाले राखेकी छन् ।
बालकलाई कुटपिट गरेको आरोपमा गिरफ्तार गरिएका प्रअलाई कानुनी प्रक्रिया अनुसार कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए । आरोपित प्रअ देवकोटाले आफूले सामान्य कुटपिट गरेको स्वीकार गरेका छन् ।