INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली प्रहारबाट मृत्यु घटनामा छानबिन समिति गठन, पीडित परिवारलाई राहत र सहकार्य गर्ने सहमति

कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको सशस्त्र प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको विषयमा पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबिच सहमति भएको छ ।

चिनी तस्करी गरेको आरोपमा ०८२ पुस १७ गते बिहान १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएपछि पीडित पक्ष र स्थानीयले पुस १७ गते गरेको प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा घटनाको सत्यतथ्य छानबिन गर्न सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ ।

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा सरोकारवाला निकायहरूबिच सहमति भएको हो ।

सहमतिमा सशस्त्र प्रहरी बलको गोली प्रहारबाट विजय साहको मृत्यु भएको घटनाको कारण र परिणामबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रतिनिधि रहने गरी सात सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ ।

छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सुरक्षाकर्मीको लापरबाहीका कारण मृत्यु भएको ठहर भएमा नियमअनुसार राहत तथा क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ ।

मृतक विजय साहकी पत्नीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहल तथा सहजीकरण गर्ने सहमति पीडित पक्ष र प्रशासनबिच भएको छ ।

मृतकका छोरा सशस्त्र प्रहरी बलमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमअनुसार आवश्यक सहकार्य र सहजीकरण गर्ने निर्णय सहमतिमा उल्लेख छ ।

मृतक विजय साहको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरी प्रक्रिया पूरा भएपछि परिवारलाई अन्त्येष्टि गर्न दिने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो