कोशी गाउँपालिका १ का ४५ वर्षीय विजय साहको पहिचान नखुलेको पक्षले गोली हानी हत्या गरेको छ ।
कोशी गाउँपालिका १ सशस्त्र प्रहरी वेस क्याम्प विओपी, लौकही नजिकै पुरी टोलमा पहिचान नखुलेको पक्षले ०८२ पुस १७ गते बिहान १ बजेतिर चलाएको गोली प्रहारबाट साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्कालले बताउनु भयो ।
घटनास्थलमा गोलीको खोका फेला परेको र गोली कसले चलाएको बारेमा अनुसन्धान थालेको डिएसपी खड्काले बताउनु भयो ।
स्थानीयले भने सशस्त्र प्रहरीले गोली प्रहार गरी साहको हत्या गरेको आरोप लगाएका छन् ।
भारतबाट चिनी तस्करी गरेको आरोपमा प्रहरीले साहसँग नजराना ५ सय रुपियाँ मागेको र सो रकम नदिएपछि सशस्त्र प्रहरीले गोली प्रहार गरी हत्या गरेको कोशी गाउँपालिका- १ का वडाध्यक्ष सोभितनारायण यादवले बताउनु भयो ।
टाउकोमा गोली लागेको अवस्थामा साहको शव सिटी सफारीमा फेला परेको स्थानीयले बताएका छन् ।
स्थानीयले कोशी गाउँपालिका- १ मा रहेको सशस्त्र प्रहरी वेस क्याम्पविरुद्ध नाराजाबी समेत गरेका छन् ।
सशस्त्र प्रहरी हेडक्वार्टर ४ नम्बर गण सुनसरीका डिसएसपी निर्मलकुमार थापाले सशस्त्र प्रहरीले गोली चलाएको हो वा होइन भन्ने विषयमा आधारिक प्रतिक्रिया दिनु भएको छैन ।