INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तरजातीय विवाह गरेको आरोपमा एउटै परिवारको चार घरमा आगजनी

बर्दियाको गुलरिया नगरपालिका-१० पर्सियामा ०८२ पुस १० गते बेलुकी करिब पौने ९ बजे २४ वर्षीय सद्दाम बेहनाको परिवारको पाँच वटा घरमा आगजनी भएको छ ।

प्रेम सम्बन्धमा रहेकी गुलरिया नगरपालिका – १० कि २५ वर्षीया अनुराधा लोधलाई सोही वडाका २४ वर्षीय सद्दाम बेहनाले पुस ५ गते भगाएर भारत लगेका थिए । अनुराधाका परिवारले छोरी ल्याइदिए केही नगर्ने शर्त अघि सारेपछि पुस १० गते केटा पक्षले केटीलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याएर बुझाएका थिए । तर केटी पक्षले सोही राति केटा पक्षको घरमा आगजनी गरे ।

गुलरिया नगरपालिका-१० पर्सियाका सद्दामको हजुरबुबा ८० वर्षीय सौकत बेहनाले आफ्नो परिवार चार पुस्तादेखि सोही ठाउँमा बस्दै आएको बताउनु भयो । ‘चार पुस्तादेखि यही ठाउँमा बस्दै आएको छौँ । अहिलेसम्म यस्तो भएको थिएन’ उहाँले भन्नुभयो । हाम्रो परिवारमा १९ जना छौँ । बेलुकी खाना खाएर परिवारका सबै बसेका थियौ । एक्कासी ठूलो समूह आएर सद्दामको बारेमा सोधपुछ गर्दै घरमा आगजनी गर्‍यो । हामी भागरे ज्यान जोगायौँ ।’

बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले आगजनीबाट पूर्ण रूपमा घरहरु क्षति भएकोले पीडित परिवारलाई बस्नका लागि त्रिपाल, खाद्यान्न र कपडा सहयोग गरिएको जानकारी दिनुभयो ।

पाँच घरहरुमा आगजनी गरिएको घटनामा संलग्न रहेको भन्दै दश जना विरुद्ध पीडित पक्षले प्रहरीमा किटानी उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित पक्षले उजुरी दिएका पाँच जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले उजुरी परेका व्यक्तिसँग सोधपुछ भइरहेको हुँदा उनीहरुको नाम सार्वजनिक नगरिएको बताउनु भयो ।

 

 

 

 

 

प्रकाश पौडेल

अन्य

भिडियो