गुल्मीमा २ लाख २९ हजार ५ सय ४९ मतदाता कायम भएका छन् । आगामी निर्वाचनको लागि पुरुष १ लाख १४ हजार ३ सय ३७ र महिला १ लाख १५ हजार २ सय १० मतदाता कायम भएका हुन् । २०७९ सालको निर्वाचनमा भन्दा अहिले ५ हजार २ सय ७५ मतदाता वृद्धि भएका छन् । निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी क्रृषिराम घिमिरेका अनुसार २०७९ सालमा पुरुष १ लाख १० हजार ५९ र महिला १ लाख १४ हजार २ सय १५ गरेर २ लाख २४ हजार २ सय ७४ मतदाता रहेका थिए । २०७९ र आगामी निर्वाचनमा जिल्लामा पुरुषको भन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको घिमिरेले बताउनुभयो ।
नयाँ मतदाता सङ्ख्या अनुसार क्षेत्र नं १ का कालिगण्डकी गाउँपालिकाका १४ हजार ९ सय २१, गुल्मीदरबारमा १९ हजार ६ सय ११, चन्द्रकोटमा १६ हजार ३ सय २०, छत्रकोटमा २० हजार १ सय ९१, रुरु क्षेत्रमा १७ हजार २ सय १, सत्यवतिमा १९ हजार ३ सय ९६ र रेसुङ्गा नगरपालिकाका (७–१४) १४ हजार ५ सय ४६ मतदाता रहेका छन् ।
त्यस्तै क्षेत्र नं २ तर्फ रेसुङ्गा नगरपालिकाका (१–६) १० हजार ३ सय ४८, इस्मामा १८ हजार ३ सय ५, धुर्कोटमा १९ हजार १ सय १०, मदानेमा १६ हजार ५ सय ७९, मालिकामा १८ हजार ४३ र मुसिकोट नगरपालिकामा २४ हजार ९ सय ७८ मतदाता सङ्ख्या रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीको क्षेत्र नं १ मा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तथा क्षेत्र २ मा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र रहेका छन् । अहिले जिल्लामा तीन मतदान स्थल थपिएका थिए । सत्यवती गाउँपालिका–६, गुल्मीदरवार गाउँपालिका–१ र मुसिकोट नगरपालिका–१ मा नयाँ मतदान स्थल कायम भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीमा सूचना अधिकारी हर्क श्रीसले बताउनुभयो । अहिले गुल्मीमा १ हजार १ सय ७४ महिला र एक हजार ६ सय ४९ पुरुष गरेर २ हजार ८ सय २३ नयाँ मतदाता थपिएका थिए ।
गुल्मीमा रहेका १ सय ४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील रहेका छन् । ती मध्ये ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको प्रजिअ बद्रीनाथ गैह्रेले बताउनु भयो । जिल्लाको सुरक्षा योजना सहित सबै मतदान स्थलहरुको अनुगमन सकेर सुरक्षाको दृष्टिबाट बर्गिकरण गरिएको गैह्रेले बताउनुभयो ।