११ वर्षीया बालिकालाई अपहरण तथा शरिर बन्धक बनाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले महाराजगञ्ज नगरपालिका–११ का २५ वर्षीय शिवश्याम गोडियालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको मङ्सिर २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, पीडित राहत कोषको ७ लाख रुपियाँ पीडितलाई भराई दिने र प्रतिवादीबाट पीडितलाई थप १ लाख रुपियाँ भराइदिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८१ माघ २९ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अपहरण तथा शरीर बन्धक र जबरजस्ती करण कसुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १ गते कपिलवस्तु अस्पताल तौलिहवामा भयो । प्रहरीले आरोपितलाई ०८२ वैशाख ९ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको थियो ।