INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा अभिभावक विहीन १७ जना बालबालिका जन्मदर्ताबाट वञ्चित

बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझी रहेको सरस्वती आधारभूत विद्यालयमा बस्दै र पढ्दै आएका अभिभावक विहीन १७ जना बालबालिका जन्मदर्ता विहीन रहेका छन् । सानै उमेरमा बुबाआमा गुमाएका र बुबाआमाले छोडेर गएका सरस्वती आधारभूत विद्यालयमा बस्दै र पढ्दै आएका १७ जना अभिभावक विहीन बालबालिकाको अझै पनि जन्मदर्ता बन्न सकेको छैन ।

आधारभूत विद्यालयमा अहिले छात्राछात्र गरी ३६ जना बालबालिका बस्दै आएका छन् । जसमध्ये १७ जना बालबालिकाको जन्मदर्ता छैन । नेपालको संविधानको धारा ३९ को उपधारा (१) मा ‘प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहितको नामाकरण तथा जन्मदर्ताको हक हुनेछ ।’ भनिएको छ भने उपधारा (९) ‘ असहाय, अनाथ अपाङ्गता भएका द्वन्द्वपीडितको, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट प्राप्त हुने विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।’ भनिएको छ । तर विद्यालयमा रहेको १७ जना विद्यार्र्थी अझै पनि जन्मदर्ताको अधिकारको वञ्चित रहेका छन् ।

विद्यालयमा कक्षा ६ मा पढ्ने सागर परियार, स्वस्तिका थारू, अमन बोहोरा, सचिन चौधरी, त्यसैगरी कक्षा ५ मा पढ्ने राधिका परियार, कनैया थारू र सुशील थारू र कक्षा ४ मा पढ्ने कृष्ण बिक र कक्षा ३ मा पढ्ने कृष्ण थारूको जन्मदर्ता छैन, कक्षा २ मा पढ्ने नतेश शाही, सुशीला थारू, रमण बस्नेत, सन्देश बस्नेत, अनुप बोहोरा र कक्षा १ मा पढ्ने इसिका शाही र दुर्गेश बिकको जन्मदर्ता नभएको विद्यालयका प्रधानाध्यापक धनराज खत्रीले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक ताराप्रकाश वलीले बुबा–आमा सानैमा मृत्यु भएको र हजुरबुबा हजुरआमाले ल्याएर विद्यालयमा छोडेको विद्यार्र्थी भएको बताए । उहाँले भन्नुभयो, ‘विद्यालय आफै अभिभावक भएर अभिभावक विहीन बालबालिकालाई विद्यालयमा राखेर शिक्षादीक्षा र बसोबासको व्यवस्थापन मिलाएको भएपनि १७ जना बालबालिकाको अझै पनि जन्मदर्ता बनेको छैन् ।’

अधिवक्ता सोम खड्काले बुबाआमा नभए पनि बालिकाको घरको परिवारको सदस्य संरक्षक रहेर जन्मदर्ता बनाउन सकिने कानुनी व्यवस्था रहेको बताउनु भयो । उहाँले मुलुकी देवानी संहिता २०७४ को दफा १३६ मा तोकिएको संरक्षक नभएमा यस्ता नाबालकलाई पालनपोषण गर्ने व्यक्तिले जन्मदर्ता गराइदिन सक्ने कानुनी व्यवस्था रहेको छ । ’

राष्ट्रिय परिचय पत्र पञ्जिकरण नियमावली २०७७ मा सूचक नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रचलित कानून बमोजिमको संरक्षक वा माथवरले वा त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको सम्बन्धित वडा अध्यक्षले सूचकको रुपमा व्यक्तिगत घटना दर्ता गर्नका लागि सूचना दिनु पर्ने यसरी बालबालिकाको जन्मदर्ता बनाउन सकिन्छ ।

प्रकाश पौडेल

अन्य

भिडियो