INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रादेशिक अस्पतालमा निःशुल्क औषधीको अभाव

दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सरकारले प्रदान गर्ने निःशुल्क औषधी समेत नपाउने गरेको बिरामीहरुले गुनासो गरेका छन् ।
नेपाल सरकारले ९८ प्रकारका औषधी, निःशुल्क उपलब्ध गराउने कानुनी प्रावधान भएतापनि दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा तीन प्रकारका मात्र औषधी निःशुल्क प्राप्त हुने गरेको अस्पतालले जनाएको छ ।

नेपाल सरकारले निःशुल्क उपलब्ध गर्ने ९८ प्रकार औषधी मध्ये सिटामोल, जीवनजल, ग्याष्ट्रिकको औषधी मात्रै अस्पतालमा प्राप्त हुने गरेको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर अचुत पौडेलले बताए । सुपरिटेन्डेन्ट पौडेलले बिरामीलाई निःशुल्क उपलब्ध गराउने औषधी परिपूर्ती नहुँदा बिरामीहरु सेवाबाट बञ्चित हुनुपरेको बताउनु भयो । साथै उहाँले सेवाग्राहीलाई पालिकाका स्वास्थ्य संस्था र वडामा रहेका स्वास्थ्य चौकीहरुमा नै फिर्ता पठाउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।

नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधी मध्ये पशुपति चौलागाई अस्पतालमा ३२ प्रकारका औषधी आवश्यक पर्ने गरेकोमा तीन प्रकारका मात्रै औषधी आउने गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुवास रिमालले बताउनु भयो ।

अध्यक्ष रिमालका अनुसार उपचारका लागि अति आवश्यक परेमा अस्पतालले निःशुल्क दिनुपर्ने औषधी समेत बिरामीहरुले खरिद गरेर प्रयोग गर्ने गरेको बताउनु भयो ।
निःशुल्क वितरण गरिने ९८ प्रकारका मध्ये धेरै औषधी स्थानीय र प्रदेश सरकारले खरिद गर्दै आएको अध्यक्ष रिमालले बताउनु भयो । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको ५० शैया क्षमताको अस्पतालमा दैनिक करिब २ सय जना बिरामी सेवा लिन आउने गरेका छन् ।

उद्धब पोखरेल

अन्य

भिडियो