विद्युत मर्मत गर्ने क्रममा हातगोडा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी–६ नेर्पाका ३७ वर्षीय हरीकाजी ढुङ्गानाले ६ महिनाको तलब नपाएको गुनासो गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्ने क्रममा हलेसी तुवाचुङ नगरपालिकास्थित अर्खौलेको बर्खेटारमा ०७० चैत १६ गते एघार केभी क्षमताको विद्युत लाईन मर्मत गर्ने क्रममा दुर्घटनामा परी ६ महिना अस्पतालमा बसी उपचार गर्ने क्रममा सो समयको तलब नपाएको पीडितले बताए ।
उपचारको क्रममा रहँदाको तलवका लागि पटकपटक कुरा राखे पनि ज्यालादारी कर्मचारी भन्दै अहिलेसम्म तलब नदिएको पीडितका आफन्त झमप्रसाद आचार्यले बताए ।
गत असोजमा अस्पातलबाट डिस्चार्ज भएपछि ६ महिनाको तलब माग गर्दा ज्यालादारी कर्मचारी भएकाले दिन मिल्दैन भन्दै प्राधिकरणले तलब नदिएको पीडितको गुनासो छ ।
पीडित ढुङ्गानाको उपचारको लागि प्राधिकरणले सबै खर्च बेहोर्ने भनिए पनि खर्च नबेहोरेको परिवारले आरोप लगाएको छ ।
पीडितको उपचारका लागि हालसम्म ३६ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । सो मध्ये २६ लाख रुपियाँ विद्युत प्राधिकरणले उपलब्ध गराए पनि बाँकी रकम ऋणमा लिइएको पीडितले बताए ।
करेण्ट लागेर बेहोस अवस्थामा पुगेका पीडितलाई उद्धार गरी काठमाण्डौँस्थित टिचिङ अस्पताल लगिएकोमा आफन्तको आग्रहमा झापाको विर्तामोडस्थित बिएण्डसि अस्पताल लगिएको थियो ।