INSEC Online

📅 २०८३ जेष्ठ २२

पतिको मृत्यु हुँदा किरिया गर्न नदिएको भन्दै प्रशासनमा उजुरी

पतिको मृत्यु हुँदा पनि परिवारका सदस्यहरूले काजकिरिया गर्न नदिएको भन्दै पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी ४१ वर्षीया कृष्णकुमारी खत्रीले न्याय माग्दै जिल्ला प्रशासन कार्यालय, पर्वतमा उजुरी दिएकी छिन् ।

खत्रीले आफ्ना पति ५९ वर्षीय जीतबहादुर खत्रीको मृत्यु हुँदा किरिया बस्न परिवारका सदस्यहरूले नदिएको भन्दै माघ १० गते जिल्ला प्रशासन कार्यालय, पर्वतमा उजुरी दिएकी हुन् ।

कृष्णकुमारीका पति जीतबहादुर खत्रीको मृत्यु माघ २ गते घरमा नै भएको थियो । पीडित कृष्णकुमारीले पति बिरामी हुँदा समेत परिवारका सदस्यले भेट्न नदिएको र मरेपछि काजकिरिया गर्न नदिएको गुनासो गर्दै उजुरी गरेको प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले जानकारी दिए ।

कृष्णकुमारीबाट सन्तान नभएपछि जितबहादुरले अर्को विवाह गरेका थिए । पतिले अर्को विवाह गरेपछि उनी ०६६ सालदेखि सदरमुकाम कुश्मामा बस्दै आएकी थिइन् ।

सौतापट्टिका छोरा रामबहादुर खत्री, लेखबहादुर खत्री, अर्जुनबहादुर खत्री र बसन्तबहादुर खत्रीले किरियामा बस्न नदिने भनी दुर्व्यवहार गरेको भन्दै पीडितले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय, पर्वतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले पीडितलाई न्याय दिनका लागि स्थानीय फलेवास नगरपालिका तथा सम्बन्धित वडाका प्रतिनिधिसँग समन्वय गरिरहेको जानकारी दिए ।

अन्य

भिडियो