INSEC Online

📅 २०८३ जेष्ठ २१

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरू मर्कामा

दुधपोखरी गाउँपालिका–६ स्थित गौँडा प्राथमिक स्वास्थ्य चौकीमा दुई जना डाक्टरको दरबन्दी रहेकोमा दुईजना डाक्टर नै नियमित नहुँदा स्वास्थ्य चौकीमा जचाउन आउने बिरामीहरू मर्कामा परेका छन् ।

स्वास्थ्य चौकीमा भक्तपुर घर भएका डाक्टर दिपक लोहला र लमजुङकै सुन्दरबजार नगरपालिका घर भएका डाक्टर होमबहादुर गुरूङको दरबन्दी रहेको छ ।

पछिल्लो दुई महिना यता दुवैजना डाक्टर स्वास्थ चौकीमा अनुपस्थित रहँदा हेल्थ असिष्टेण्ट अर्जुन रिमाल एक्लैले सेवा सञ्चालन गर्नुपरेको गुनासो गर्छन् ।

सामान्य रोगको औषधि दिइने गरेपनि डाक्टर नहुँदा प्रायजसो बिरामीलाई जिल्ला सदरमुकाम पठाउनुपर्ने बाध्यता रहेको छ ।

यस आर्थिक वर्षमा टेण्डर आह्वान गर्दा ढिलाइ भएको कारणले पनि स्वास्थ चौकीमा राखिनुपर्ने नेपाल सरकारले प्रदान गरेका ५८ प्रकारका निशुल्क औषधिमध्ये २० देखि २१ प्रकारका औषधिमात्रै उपलब्ध रहेको हेल्थ असिष्टेण्ट रिमालले बताए ।

डाक्टर अनुपस्थित र औषधिको अपर्याप्तताका कारण बिरामीहरू एकदिन लामो बाटो पर्ने बेसीशहर आउनुपर्ने बाध्यता रहेको दुधपोखरी–६ का स्थानीय बुद्धिजिवी ओमबहादुर गुरूङले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सिताराम गुरूङ भने डाक्टर बस्ने स्थल राम्रो नभएकोले डाक्टरहरू गाउँमा बस्न नमान्ने गरेको बताउँछन् ।

दुधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमायाँ गुरूङले भने डाक्टरहरू नियमित नभएको बारेमा भर्खरै मात्रै जानकारी पाएको बताइन् ।

स्वास्थ्यचौकीको व्यस्थापनमा जोड दिने बताउँदै गुरूङले सबै कर्मचारीलाई नियमितताका लागि अनुरोध गर्ने र नमानेको अवस्थामा कानुनी कारवाही गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

अन्य

भिडियो