INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सेवाग्राही मारमा

स्थानीयहरूद्वारा डोटीको शिखर नपा–३ को कार्यालयमा पुस ३ गतेदेखि लगाइएको अनिश्चितकालिन  तालाबन्दीका कारण स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् ।

शिखर नगरपालिकास्थित केही स्थानीयहरूले वडा कार्यालय सबैको पायक पर्ने स्थान आलि र सापलाको बिचमा पर्ने जोरागाउँमा सारिनु पर्ने माग राखी अनिश्चितकालीन तालाबन्दी गरेका कारण सेवाग्राहीहरू समस्यामा परेका हुन् ।

तालाबन्दीका कारण वडा कार्यालयबाट सिफारिस लिन नपाएर स्थानीय समस्यामा परेका छन् । तालाबन्दीले गर्दा विवाह दर्ता, जन्म दर्ता, बसाइसराइ र मृत्यु दर्ता जस्ता सिफारिस लिनबाट आफूहरू वञ्चित भएको स्थानीय गणेश महराले गुनासो गरे ।

बच्चा जन्मेको ३५ दिन भित्रै जन्मदर्ता गरे कुनै शुल्क नलिने व्यवस्था अनुसार नातिको जन्मदर्ता गर्न तीन दिनसम्म वडा कार्यालय आएको भएपनि तालाबन्दीका कारण कार्यालय बन्द हुँदा जन्म दर्ता गर्न नसकेको स्थानीय धौले महराले दुखेसो पोखे ।

आलि र सापलाको बिचमा पर्ने जोरागाउँ सबैका लागि पायक पर्ने स्थान भएकाले कार्यालय सारिनु पर्ने माग राखी स्थानीय जनताहरूको सहमतिमा नै माघ ३ गते साँझ विज्ञप्ति जारी गरी तालाबन्दी गरिएको स्थानीय रमेश जोराले बताए ।

यसभन्दा अगाडि पनि पायक पर्ने स्थानमा वडा कार्यालय सार्न माग गर्दै स्थानीयहरूले लिखित निवेदन  वडा अध्यक्षलाई दिएको भए पनि अध्यक्षले बेवास्ता गरेका कारण बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नु परेको स्थानीय चन्द्र महरा र रमेश जोराले बताए ।

वडा अध्यक्ष प्रेम जोराले वडाको बैठक राखेर समस्या समाधानको लागि नगरपालिकास्थित न्यायिक समितिलाई समस्या समाधानका लागि जिम्मा दिने बताए ।

राज्य पुनर्संरचना आयोगले आली अतुरालीमा नै वडा कार्यालय केन्द्र तोकी सकेकोले आली अतुरालीका स्थानीयले वडा कार्यालय नसार्न दाबाब दिँदै आएका शिखर नगरपालिका उपप्रमुख धौलीदेवी रावलले जानकारी बताइन् । यद्यपी यो समस्या समाधानका लागि आफूहरू प्रतिवद्ध रहेको उपप्रमुख रावलले बताइन् ।

अन्य

भिडियो