INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशमा ३६ हजार ७ सयभन्दा बढी मतदाता थपिए

सरकारले ०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति घोषणा गरेसँगै सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा निर्वाचनसम्बन्धी गतिविधिहरु भइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत जिल्ला निर्वाचन कार्यालयहरुले जिल्लामा मतदाता नामावली संकलन कार्य गर्नुको साथै मतदाता नामावली अद्यावधिक गर्ने कार्यहरु समेत सुरु गरेको छ । नौ ओटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि १७ ओटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा १ हजार १ सय ८२ ओटा मतदान स्थल र २ हजार १ सय ६९ ओटा मतदान केन्द्र रहेकोमा साविकको मतदाता सङ्ख्या १६ लाख ८१ हजार ९ सय ८९ रहेको छ । मतदाता नामावली अद्यावधिक भइरहेकोले मतदाता सङ्ख्यामा थपघट हुने सक्ने जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् । यस प्रदेशका नौ ओटै जिल्लामा ०८२ असोज १० गतेदेखि ०८२ मङ्सिर ५ गतेसम्म नयाँ मतदाता नामावली संकलन कार्यभएको छ । यस अवधिमा जिल्ला निर्वाचन कार्यालय र एनआइडीबाट ३६ हजार ७ सय २८ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको पाइएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र इन्सेकका जिल्ला प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी प्रतिनिधिसभा निर्वाचनाको पूर्व अवस्थाका बारेमा सूचना संकलन गरिएको छ । प्राप्त सूचनाका आधारमा तयार गरिएको संक्षिप्त विश्लेषण प्रस्तुत गरिएको छ ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन ०८२ फागुन २१  गते सम्पन्न हुने गरी मिति घोषणा गरेपछि निर्वाचन कार्यतालिका अनुसार जिल्लामा निर्वाचनसँग सम्बन्धित कार्यहरु भइरहेका छन् । जिल्ला निर्वाचन कार्यालय, कैलालीले ०८२ मङ्सिर ५ गतेसम्म नयाँ नामावलि दर्ताको कार्य सम्पन्न गरी अद्यावधिक गरिरहेको छ । प्रदेश निर्वाचन कार्यालय, धनगढीका अनुसार कैलाली जिल्लामा २ सय ३७ ओटा मतदान स्थाल र ६ सय २९ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा १२ जना अन्य मतदाता सहित २ लाख ६१ हजार ५ सय १८ जना पुरुष र २ लाख ७३ हजार ३ सय ३४ महिला गरी ५ लाख ३४ हजार ८ सय ६४ जना मतदाता रहेकोमा १८ हजार २ सय १३ जना नयाँ मतदाता थपिएका  निर्वाचन कार्यालय, कैलालीमा प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।

निर्वाचन कार्यालयको कार्यतालिका अनुसार ०८२ मङ्सिर ५ गतेसम्म नयाँ मतदाता नामावली दर्ता सम्पन्न गरी रुजु गर्ने कार्य भइरहेको र केन्द्रबाट आयोगले मतदाता शिक्षाको सामग्री पठाएपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने प्रमुख भट्टले बताउनु भयो ।

सुशासन र भ्रष्टाचार विरुद्ध भदौ २३ र २४ गते भएको युवा पुस्ताको आन्दोलनको कारण देशैभरी सुरक्षा चुनौती थपिएको जिल्ला प्रहरी कार्यलय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो । कारागारबाट फरार कैदीबन्दीहरुको कारण सुरक्षामा चुनौती थपिएको र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनकामा सबै राजनीतिक दलहरु सहभागी हुने सुनिश्चितता नभएसम्म राजनीतिक दलका कार्यकर्ताबिच झडपका घटनाहरु हुन सक्ने भएकोले सुरक्षा चुनौती थपिने सम्भावना रहेको उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले मातहतका इलाका प्रहरी कार्यालयहरुसँग नियमित समन्वय गरी फरार कैदीवन्दीहरुको खोजीकार्य तिव्र पारी गिरफ्तार गरिरहेको र जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कर्यालय र अन्य सुरक्षाका निकाय तथा सरोकारवालाहरुसँग नियमित छलफल, समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो । सुरक्षालाई थप मजबुत बनाउनका लागि सुरक्षामा थप सतर्कता बढाइएको र केन्द्रीय प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रहरीको भर्ना गरिने डिएसपी सिंहले बताउनु भयो ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार ०८२ असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा जिल्लामा २ हजार ६ सय बढी मतदात थपिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दिएको मङ्सिर ५ गतेसम्मको अवधिमा नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो । हाल रहेका मतदान केन्द्र भवन जीर्ण रहेका कारण दुई ओटा मतदान केन्द्रलाई स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न संरचना समेत बलिया र मजबुत हुनु पर्ने मनसायका साथ दुई ओटा मतदान केन्द्रलाई स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक अनिल पौडेलले जानकारी दिनुभयो । कात्तिक २७ गते बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लाको अपि हिमाल गाउँपालिका–६ मा रहेको महिला संघ आधारभूत विद्यालय सितोलाको मतदान केन्द्रलाई नजिकै रहेको महिला सामुदायिक भवनमा स्थानान्तरणका लागि सिफारिस गरिएको छ । यसैगरी नौगाड गाउँपालिका–३ जामिरस्थित सत्संग भवनमा रहेको मतदान केन्द्रलाई नजिकै रहेको आधारभूत अस्पताल जामिरमा स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीप धामीले बताउनु भयो । नौगाड खोलामा आएको बाढीले हाल रहेको मतदान केन्द्रको प्राङ्गण बगाएको तथा भवन जोखिममा रहेका कारण मतदान केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा १ सय १२ मतदान स्थल र १ सय ४१ मतदान केन्द्र कायम गरिएको, थपिएका मतदाता मध्ये ६ सय ४६ महिला र ७ सय ६४ पुरुष गरी १ हजार ४ सय १० जनाले कार्यालयमै पुगेर नाम दर्ता गराएका र १ हजार १ सय ९८ जनाले राष्ट्रिय परिचय–पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जोशीले बताउनु भयो ।

यस अवधिमा ४ सय १९ जनाले स्थान परिर्वतन गरेका छन् भने ८६ जनाले त्रुटी सच्याउनका लागि कार्यालयमा निवेदन दिएका छन् । जिल्ला निर्वाचन कार्यालय, दार्चुलाका अनुसार जिल्लामा यसअघि १८ वर्ष पूरा भएका ९० हजार ७ सय ८२ जना मतदाता रहेका छन् । जसमध्ये ४६ हजार ४ सय ३५ पुरुष  र ४४ हजार ३ सय ४७ जना महिला रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार  प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ सय १ मतदान स्थल र १ सय ३९ ओटा मतदान केन्द्र रहेका छन् । आगामि प्रतिनिधि सभा  निर्वाचनको तयारीका लागि निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता गर्ने र अद्यावधिक गर्ने कार्य गरिरहेको छ ।

२०७९ को निर्वाचनमा ९१ हजार २ सय १ मतदाता रहेकामा हाल ३ सय ८९ पुरुष र २ सय ३१ महिला गरी ६ सय २० जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर भवानीदत्त भट्टले बताउनु भयो । उहाँका अनुसार २०८२ असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो ।

जिल्लामा चार नयाँ मतदान स्थल थप गर्ने सिफारिस गरिएको छ । अजयमेरु गाउँपालिका–६ को डागेश्वरी आधारभूत विद्यालय, कानाकोट र भूमिराज आधारभूत विद्यालय, पिपलचौतारामा नयाँ मतदान स्थानका रूपमा सिफारिस गरिएको छ। यी स्थल थपिएमा अघिल्लो देवल माविको मतदान स्थल हट्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी नवदुर्गा गाउँपालिका–५ को चौडबान्नी र गन्यापधुरा गाउँपालिका–१ को असिग्राम आधारभूत विद्यालय, राउनाकोट पनि नयाँ मतदान स्थलका लागि सिफारिसमा परेका छन् ।

जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अवस्थीका अनुसार मतदाता नामावली संकलनको काम पूरा भइसकेको छ र नामावली आयोगमा पठाइसकिएको छ । केही दिनमै मतदाता नामावली प्रकाशन हुने र त्यसपछि बसाइँसराइँ, मृत्यु तथा अन्य कारणले हुने थपघटको प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । अस्थिर राजनीतिक वातावरण र जेन्जी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका घटनाले निर्वाचन तयारीमा चुनौती थपिएको र आगजनीबाट कार्यालयका कम्प्युटर र ल्यापटप नष्ट भएकाले हाल कैलाली जिल्ला निर्वाचन कार्यालयबाट एक र दुई ओटा उधारोमा ल्याइएका कम्प्युटरमार्फत काम चलाइरहेको अवस्थीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कोइरालाले आगामी निर्वाचनका तयारी कागजी रुपमा धेरै अघि बढिसकेको जानकारी दिँदै म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर भाष्कर चन्दले निर्वाचन लक्षित सुरक्षा समितिको बैठक समय समयमा बसिरहेको र निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गर्नका लागि माथिल्लो निकायबाट आवश्यक जनशक्ति र हतियार माग गरेका बताउनु भयो । जिल्लामा शान्ति सुरक्षाको अवस्था अहिले समान्य रहेकोले आगामि फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुरक्षा रणनीति तयार भइरहेको समेत उहाँले बताउनु भयो ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार नेपाल सरकारले ०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन मिति तोकेसँगै जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असोज १० गतेदेखि सुरु गरिएको थियो । असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म यस जिल्लामा २ हजार ३ सय नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, बझाङका निमित कार्यालय प्रमुख श्याम खड्काले बताउनु भयो । हाल जिल्लामा १ लाख २८ हजार ८० जना मतदाता रहेका छन् ।

खड्काका अनुसार जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई ओटा निर्वाचन क्षेत्र रहेका छन् । जसमा १ सय ८६ मतदान केन्द्र र १ सय ३३ मतदान स्थल रहेकोमा थलारा गाउँपालिका–४ र ५ मा मतदान स्थल थपको लागि सिफारिस गरी पठाएको छ ।

निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न र भयरहित बातावरण निर्माण गर्नका लागि आफुहरु तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले बताउनुभयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कञ्चनपुर जिल्लास्थित सरोकारवालाहरुसँग सम्पर्क गरी आगामी फागनु २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको तयारीका सन्दर्भमा सूचना संकलन गरेको छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरले नयाँ मतदात नामावली संकलन तथा दर्ता गर्ने कार्य ०८२ मङ्सिर ५ गतेसम्म गरेको पाइएको छ ।

निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार फागनु २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा  १ सय ३२ ओटा मतदान स्थल र  ३ सय ४६ मतदान केन्द्र तोकिएको छ । जिल्लामा एक जना  अन्य मतदाता सहित १ लाख ५५ हजार ८ सय ३ जना महिला र १ लाख ४७ हजार २ सय ८३ जना पुरुष गरी ३ लाख ३ हजार ८७ जना मतदाता रहेकामा हाल ४ हजार २ सय १३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका प्रमुख हरीशचन्द्र जोशीले बताउनु भयो ।

कञ्चनपुर जिल्लामा राजनीतिक दलहरु र जेन्जीहरुको कुनै बाधा अवरोध नभएकाले शान्ति सुरक्षामा समस्या नरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताउनु भयो । ०८२ फागुन २१  गते सम्पन्न हुने प्रतिनिधि सभालाई भएरहित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय, विभिन्न सुरक्षा समिति र सरोकारवालाहरुसँग निरन्तर रुपमा छलफल तथा समन्वय भइरहेको समेत एसपी खत्रीले बताउनु भयो ।

इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार निर्वाचन आयोगले तोकिएको समयसिमा भित्र डोटीमा १ हजार ८ सय ६२ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर ५ सय ८३ जना र अनलाइन प्रणालीबाट विवरण भरेर १ हजार २ सय ७९ जना गरी १ हजार ८ सय ६२ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।

१ हजार ८ सय ६२ जना नयाँ मतदाता थपिएसँगै जिल्लामा कुल मतदाताको सङ्ख्या १ लाख २९ हजार ९ सय ६३ पुगेको छ । जसमध्ये महिलाको सङख्या ६७ हजार ५ सय २६ र पुरुषको सङख्या ६२ हजार ४  सय  ३७ जना रहेको जिल्ला निर्वाचन कार्यालय, डोटीका प्रमुख करुणाकर पन्तले बताउनु भयो । जिल्लामा साविकको १ सय १५ ओटा मतदान स्थल रहेकोमा आठ ओटा मतदात स्थलहरु थप गर्ने, दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ मा रहेको देबि माबी केन्द्र टाँढा भएका कारण स्वास्थ्य केन्द्रमा सार्ने र वडा नम्बर ६ मा रहेको शैलेश्वरी आधरभुत विद्यालयलाई पबित्र आवासीय माबीमा सार्ने सिफारिस गरी पठाएको र १ सय ७७  मतदान केन्द्र रहेकोमा  त्यो बढेर १ सय ८२ मतदान केन्द्र रहने निर्वाचन कार्यालय, डोटीका प्रमुख पन्तले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जिल्ला निर्वाचन कार्यालय, अछामका प्रमुख रामदिन चौधरी, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानबहादुर धामी र जिल्ला प्रशासन कार्यालय, अछामका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र नेपालीसँग भेटघाट गरी ०८२ फागनु २१ गते प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनको तयारी तथा जिल्लाको शान्ति सुरक्षाका सन्दर्भमा छलफल गरी सूचना संकलन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र नेपालीले जिल्लामा शान्ति सुरक्षाको अवस्था समान्य रहेको, जेन्न्जी अन्दोलनका क्रममा पनि जिल्ला प्रशासन कार्यालय, पत्रकार, नागरिक समाजको संयुक्त पहलमा भौतिक संरचना क्षति हुनबाट जोगाइएको र ०८२ फागुन २१ गते हुन गइरहेको निर्वाचनका सन्दर्भमा जिल्लास्थित सबै राजनीतिक दलहरुसँग सर्वदलीय बैठक सम्पन्न गरी निर्वाचन क्षेत्र, स्थल र केन्द्रका बारेमा  साविककै निर्वाचन क्षेत्र, स्थल र केन्द्र रहने सहमति अनुसार केन्द्रममा जानकारी गराइएको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय तथा मातहतका कार्यालयबाट प्रवाह गरिने सेवालाई सहज, सुलभ र छिटोछरितो बनाउनका लागि समेत हरसम्भव प्रयास हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय, अछामका प्रमुख रामदिन चौधरीले जिल्लामा पुरा नै निर्वाचन क्षेत्र, स्थल र केन्द्र यथावत रहेका र हालसम्म नामावली संकलनको कार्यहरु सम्पन्न भई अद्यावधिक गर्ने कार्य सुरु गरिएको बताउनु भयो । प्रतिनिधिसभाका लागि दुई ओटा निर्वाचन क्षेत्र, १ सय ३० ओट मतदान स्थल र २ सय ८ ओटा मतदान केन्द्र रहेको यस जिल्लामा १ लाख ६३ हजार ३ सय ४३ मतदाता रहेको उहाँले बताउनु भयो । ०८२ मङ्सिर ५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा ३ सय ९३ महिला र ६ सय ६३  पुरुष गरी १ हजार ५६ जना र एनआइडीबाट १ हजार ५ सय १८ जना गरी २ हजार ५ सय ७४ जनाले मतदाता नामवलिका नाम दर्ता गराएको चौधरीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर मानबहादुर धामीले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको भए पनि भौगोलिक विकटताका कारण निर्वाचनको समयमा साधन स्रोत र जनशक्ति अभाव हुने भएकोले यसका लागि सरकारसँग माग गरिएको बताउनु भयो । जिल्लाको भौगोलिक बिकटना अनुसार जनशक्ती र साधान स्रोतको अभावमा काम गर्न केही समस्याहरु भएको भए पनि आवश्यक स्रोत र जनशक्ति थपभएको खण्डमा निर्वाचनका समयमा प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी सहज रुपमा बहन गर्न उहाँको भनाइ छ ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्ला निर्वाचन कार्यालय, बाजुराका प्रमुख अंगतबहादुर महतले निर्वाचन आयोगले प्रतिनिधिसभाको मिति घोषणा गरेसँगै जिल्लामा पनि निर्वाचनसँग सम्बन्धित कार्यहरु सञ्चालन गर्दै आएको बताउनु भयो । जिल्लामा नयाँ मतदाता नामावली संकलनको कार्य ०८२ असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म गरिएको र सो अवधिमा निर्वाचन कार्यालयमा ३ सय २६ महिला र ४ सय ५८ जना पुरुष गरी ७ सय ९४ जनाले मतदाता नामावलीका नाम दर्ता गरेको र ६ सय जनाले अनलाइन प्रणाली मार्फत नाम दर्ता गराएको उहाँले बताउनु भयो । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको बाजुरा जिल्लामा ७७ ओटा मतदान स्थल र १ सय २७ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा ४१ हजार ९ सय २० महिला, ४४ हजार ५ सय ३५ पुरुष र दुई अन्य गरी ८६ हजार ४ सय ५७ जना मतदाता सङ्ख्या रहेको छ । मतदाता नामावलीमा नाम दर्ता भएकाहरुको अद्यावधिक गर्ने कार्य भइरहेको र निर्वाचन आयोगबाट अख्तियारी प्राप्त भएपछि मतदाता शिक्षाका कार्यहरु सञ्चालन गरिने समेत जिल्ला निर्वाचन अधिकृत महतले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी इकवाल हवारीले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न प्रहरी तयार अवस्थामा रहेको बताउनु भयो । भौगोलिक विकटताका कारण अहिलेको जनशक्ति र साधन स्रोत पर्याप्त नभएकोले थप सुरक्षाकर्मी र साधन स्रोतको व्यवस्था सरकारले गर्नु पर्ने उहाँको भनाइ छ ।

जिल्लामा साविकका ७० ओटा मतदान स्थल रहेकामा यस पटक सात ओटा थप गरी जिल्ला निर्वाचन सुरक्षा समितिले सिफारिस गरेर पठाएको र निर्वाचन केन्द्रहरु साविककै १ सय १२ ओटा रहेका छन् । ०७९ सालमा सम्पन्न भएको निर्वाचनमा दुई जनाको मृत्यु भएकोले जिल्लालाई निर्वाचन आयोगले रेड जोनमा राखेर शान्तिपूर्ण रुपमा निर्वाचन गर्न सुरक्षाको तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालय, बाजुराका प्रमुख भिम शाहीले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बैतडी जिल्लास्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयसँग सम्पर्क समन्वय गरी जिल्लामा निर्वाचनको तयारीका सन्दर्भमा भएका गतिविधि, प्रगति र शान्ति सुरक्षाका बारेमा सूचना संकलन गरेको छ ।  जिल्ला निर्वाचन कार्यालय, बैतडीका प्रमुख पुरुषोतम जोशीले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा राम्रो वातावरण रहेको र हालसम्म नयाँ मतदाता नामावली संकलनको काम सम्पन्न गरी अद्यावधिक गर्ने कार्यका लागि योजना तयार गरिएको बताउनु भयो । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र, १ सय २९ मतदान स्थल र २ सय १० मतदान केन्द्र रहेको यस जिल्लामा ०८२ असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म २ हजार ६ सय ५२ जनाले मतदाता नामावलीमा नयाँ नाम दर्ता गराउनुभएको बताउनु भयो । जसमध्ये २ सय ७५ महिला र ५ सय २९ पुरुष गरी ८ सय ४ जना जिल्ला निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराएका र १ हजार ८ सय ४८ जनाले अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गराएको उहाँले बताउनु भयो । निर्वाचन आयोगबाट अख्तियारी प्राप्त नभइसकेकोले हाल मतदाता शिक्षालगायतका कार्यहरु गर्न नसकिएको र अख्तियारी प्राप्त भएपछि निर्वाचनसम्बन्धी अन्य गतिविधिहरु सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय, बैतडीमा प्रमुख जोशीको भनाइ छ । जिल्लामा ७६ हजार ८ सय ३४ महिला, ७७ हजार ३ सय ८० पुरुष र दुई अन्य गरी १ लाख ५४ हजार २ सय १६ जना मतदाता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलदेब बडुले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउनु भयो । भौगोलिक विकटताका कारण हाल रहेको जनशक्ति र साधन स्रोत पर्याप्त नभएकोले थप सुरक्षाकर्मी र साधन स्रोतको माग समेत गरिएको उहाँले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश कार्यालय

अन्य

भिडियो