१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–२ का २४ वर्षीय राम जीवन मल्लाहलाई ७ वर्ष कैदको सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको मङ्सिर ८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, १ लाख रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराइदिने र १ हजार ३ सय रुपियाँ क्षतिपूर्ति बापत दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०७४ असोज २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज २६ गते भिम अस्पताल भैरहवामा भयो । आरोपित हालसम्म पनि फरार रहेको र प्रतिवादीको बुबा मटेलु मल्लाहको नामको दर्ता स्रेस्ता मालपोत कार्यालय भैरहवाबाट प्राप्त भएको देखिँदा प्रतिवादीको अंशभागको सम्पत्ति यकिन गरी मुलुकी फौजदारी कार्यविधि संहिता¸ २०७४ को दफा १५६ बमोजिम प्रतिवादीको अंशहकको सम्पत्ति अविलम्ब रोक्का राख्नु भनी तहसिल शाखामा आदेश गरेको छ ।