प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लाका १ सय ८ ओटा मतदानस्थलमध्ये आठ ओटा मतदानस्थलाई अति सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ ।
८२ ओटा मतदानस्थललाई सम्वेदनशील र १८ ओटा मतदानस्थल सामान्यलाई सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ ।
भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई विश्लेषणगरे अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी तीन खण्डमा मतदानस्थल तथा केन्द्र छुट्याइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सरकारले ०८२ फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेपछि जिल्लामा चार ओटा मतदानस्थल थपका लागि जिल्लास्तरीय समितिले सिफारिस गर्ने निर्णय गरेको छ ।
मतदाता सङ्ख्या र चार देखि पाँच घण्टासम्म हिँडेर मतदान गर्नुपर्ने भएपछि समितिले मतदान स्थल थपका लागि जिल्लाबाट सिफारिस गर्ने निर्णय गरेको हो ।
भौगोलिक विकटता, मतदाता सङ्ख्या र चार पाँच घण्टासम्म हिँडेर मतदान गर्नुपर्ने भएपछि चार ओटा मतदान स्थल थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनु भयो ।
चार पाँच घण्टादेखि एक दिनसम्म पैदल हिँड्नु पर्ने भएपछि जिल्लाबाट चार ओटा मतदान स्थल थप गर्नका लागि निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनु भयो ।
मतदानस्थलहरु थप गर्नका लागि सम्बन्धित वडा र स्थानीय तहबाट प्रक्रिया पुरा भइ आएका चार ओटा मतदानस्थललाई सुरक्षा सम्वेदनशीलताको स्थलगत अध्ययन गरेर जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनु भयो ।
मकालु गाउँपालिका–२ हिमाल दर्शन आधारभूत विद्यालय लिम्सुवा, मकालु गाउँपालिका–२ को महादेव आधारभूत विद्यालय कटुवाल गाउँ, मकालु गाउँपालिका–३ एकुवास्थित एकुवा आधार भूतविद्यालय र भोटखोला गाउँपालिका–४ बरूण आधारभूत विद्यालयमा मतदानस्थल थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनु भयो ।
मकालु गाउँपालिका–६ याफुमा मतदानस्थल स्थानान्तरण गर्ने र मकालु गाउँपालिका–२ स्थि हिमान्द्री माध्यमिक विद्यालय सेदुवामा नाम सच्याउन निर्णय भएको छ । मतदानस्थल थप गर्न, स्थानान्तरण गर्न र नाम सच्याउन स्थानीय तहबाट सिफारिस भएर आएका थिए ।