लेटाङ नगरपालिका–२ फडानी, स्कूल चोककी १३ वर्षीया बालिकाको शंकास्पद मृत्यु घटनामा दोषी गिरफ्तार नभएसम्म शव नबुझ्ने पीडित परिवारको अडानपछि एक महिनायता बालिकाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा राखिएको छ ।
घरबाट हराएको १८ दिनपछि लेटाङ नगरपालिका–२ र बेलवारी नगरपालिकालाई जोड्ने बेलवारी चिसाङ सामुदायिक वन क्षेत्रमा ०८२ कात्तिक ७ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा बालिकाको शव फेला परेको घटनाका दोषी गिरफ्तार नभएसम्म शव नबुझ्ने पीडित परिवारले अडान राखेको छ ।
लेटाङ नगरपालिका–२ फडानी, स्कूल चोककी १३ वर्षीया बालिका घरबाट हराएको १८ दिनपछि जङ्गलमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । सो घटनाका दोषी गिरफ्तार नभएकाले शव नबुझन् नसकिने पीडित परिवारको अडान छ ।
लेटाङ नगरपालिका–२ फडानीस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा पाँच अध्ययनरत बालिका ०८२ असोज २१ गते देखि हराएकी थिइन ।
लेटाङ–वेलवारी सिमानासँगैको वेलवारी चिसाङ जङ्गल क्षेत्रमा कात्तिक ७ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा बालिकाको शव फेला परेपछि प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपा लगेको थियो । शवको पोष्टमार्टम कात्तिक ७ गते भएपनि घटनाका दोषी गिरफ्तार र फरेन्सिक रिपोर्ट नआएसम्म शव बुझेर दाह संस्कार गर्न नसकिने मृतक बालिकाका ठूलो बुवा डिल्ली गौतमले बताउनु भयो ।
बालिका घरबाटै हराएसँगै पीडित परिवारले असोज २१ गते इलाका प्रहरी कार्यालय, लेटाङमा खोजी गरीदिन निवेदन दिएको थियो । घरबाट हराएको १८ दिनपछि शरीरका विभिन्न अङ्ग टुक्राटुक्रा पारिएको र कपडासमेत च्यातचुत पारिएको अवस्थामा बालिकाको शव घाँसदाउरा गर्नेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाका विषयमा तालिम प्राप्त कुकुर समेत परिचालन गरि अनुसन्धान गरेपनि शव दुर्गन्धित र सडेगलेको अवस्थामा फेला परेकाले अनुसन्धानमा केही जटिलता भएको जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटुवालले बताउनु भयो ।
जङ्गल क्षेत्रमा शव भेटिएकाले जङ्गली जनावरको आक्रमण वा बलात्कारपछि हत्या जे पनि हुनसक्ने भएकाले फरेन्सिक रिपोर्टपछि मात्र घटनाको कारण खुल्ने एसपी कटुवालले बताउनु भयो ।
पीडित परिवारले शव नबुझ्ने अडान राखेपनि अनुसन्धानको प्रक्रिया निरन्तर हुने भएकाले ढिलो चाँडो दोषी पत्ता लाग्ने प्रहरीको भनाइ छ ।