INSEC Online

📅 २०८३ जेष्ठ २१

मुलुकलाई निकास दिनका लागि निर्वाचन अपरिहार्य छ

अन्तरिम सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । सरकारले निर्वाचनको मिति तोकेको भएपनि जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदी बन्दीहरुको कारण अहिलेको अवस्थामा निर्वाचन कत्तिको सम्भव छ भन्ने विषयमा रुपन्देही जिल्लाका विभिन्न सरोकारवालाहरुसँग तोकिएकै समयमा निर्वाचनको सम्भावना कत्तिको देख्नुहुन्छ भन्ने विषयमा इन्सेक प्रतिनिधि रीमा बि.सीले गरेको संक्षिप्त कुराकानीलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

महेन्द्र खनाल
अधिवक्ता तथा अधिकारकर्मी
नेपालमा भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पछि गठन भएको अन्तरिम सरकारले फागुण २१ गते निर्वाचनको मिति तोकेको छ । यस सन्दर्भमा निर्धारित मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका व्यक्त गरिएका छन् । यदि निर्वाचन भएन भने मुलुकको लोकतान्त्रिक प्रणाली ध्वस्त हुन्छ । संविधानले काम गर्दैन र देश असफल हुन्छ । तोकेको मितिमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरुको सहभागिता पनि अनिवार्य छ । किनभने लोकतन्त्रमा विचारको महत्व हुन्छ, जसलाई राजनीतिक दलले अपनाएका हुन्छन् । असन्तुष्टि प्रणाली भन्दा पनि प्रबृति प्रतिको हो । पुरानो पुस्ताको नेतृत्व परिवर्तन अहिलेको आवश्यक्ता हो । राजनीतिक दलहरु सच्चिनु पर्छ । निर्वाचनमा व्यापक सहभागिता हुन्छ भन्ने कुरा मतदाता दर्तामा देखिएको उत्साहबाट साबित भएको छ । मुलुकलाई निकास दिनका लागी निर्वाचन अपरिहार्य छ । यसका लागि नागरिक समाज, कर्मचारीतन्त्र र सरोकारवाला सबैको चिन्ता र चासो हुनु स्वभाविक हो । सुरक्षाको सवालमा जेलबाट भागेका कैदिबन्दी र खोसिएका हतियारहरु यथाशिघ्र सङ्कलन गर्नु पर्छ ।

दिनेश पाण्डे
अध्यक्ष पत्रकार महासंघ, रुपन्देही
चुनाव भनेको भयरहित वातावरणमा हुने हो । जब मान्छे घरबाहिर निस्कन सक्ने अवस्थामै छैन यस्तो अवस्थामा कसरी निर्वाचन संम्भब हुन्छ र ? राजनीति दलहरुले स्वयंले अहिलेको अवस्थामा निर्वाचन सम्भव छैन भनिरहेका छन् । भय रहित वातावरण बनाएर मिति तोकिसकेपछि तोकिएकै समयमै निर्वाचन हुनुपर्छ । तर अहिलेको परिस्थितिमा निर्वाचन गर्न सहज छैन । निर्वाचनका लागि सहज वातावरण नहुँदासम्म जनमतको हिसाबले करिब ३० प्रतिशत बढी मत भएको दलले निर्वाचन हुँदैन भन्ने कुरा गरिरहेको छ । विभिन्न अपराधमा संलग्न व्यक्तिहरु कारागार तोडेर भागेको र नेपाल प्रहरीको हतियार लुटिएको अवस्था छ । यस्तो भयको वातावरणमा तोकिएको समयमा निर्वाचन सम्भव छैन् ।

आदित्य आचार्य
संयोजक, जेनजी लुम्बिनी प्रदेश
निर्वाचन तोकिएकै समयमा फागुन २१ मै हुनुपर्छ भन्ने मान्यता छ । जुन हिसाबले जेनजीको माग राखेर आन्दोलन भएको हो । त्यसको सम्बोधन हुनुपर्छ । भदौं २३ र २४ को आन्दोलनलाई संस्थागत नगर्दासम्म हाम्रो माग पुरा भएको मान्दैनौं । कारागारबाट कैदी बन्दी भागेर सुरक्षाकर्मीका हतियार लुटिएको अवस्थामा निर्वाचन हुदैन होइन तोकिएकै समयमा निर्वाचन हुनुपर्छ । हतियार लुटियो भन्ने बहानामा चुनाव रोकिदैन् बाहिरबाट हतियार किनेर भएपनि चुनाव समयमै गर्नुपर्छ । अहिले हामी जेनजीकै सरकार छ । समयमै चुनाव हुन्छ ।

सुमित्रा शर्मा
अधिकारकर्मी तथा सामाजिक अभियान्ता
दलीय व्यवस्थामा दलहरु निर्वाचनमा जान पाउनुपर्छ । विशेष परिस्थितिमा अहिलेको अन्तरिम सरकार गठन भएको हो । यो सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन गराउनु हो । भदौ २३ गतेको जेनजी आन्दोलनमा मारिएका बालबालिकाको विषयमा सत्यतथ्य छानविन गरेर न्याय दिनु हो । २४ गतेको नागरिकका व्यक्तिगत सम्पत्ति र राज्यको महत्वपूर्ण सम्पत्ति खरानी बनाएको छ । त्यसको सत्यतथ्य छानविन गरिनुपर्छ । संविधानले व्यवस्था गरेको विषय र जेनजीले माग गरेको विषय के हो त्यसको विषयमा स्पष्ट भई माग सम्बोधन गर्नका लागि संविधान संशोधन गरेर अगाडि बढ्ने वातावरण मिलाउनुपर्छ । यो विषयमा सरकार संवेदनशील बन्नुपर्छ । राजनीति दलहरु पनि एकजुट भएर जानुको विकल्प छैन् । जेनजीले पनि स्पष्ट कुरा राख्नुपर्छ सुरुको माग र अहिलेको माग फराकिलो बन्दै गएको छ । यस्तो अवस्थामा निर्वाचन हुने कुरा शंकास्पद छ । यस्तो भयको अवस्थामा निर्वाचन सम्भव छैन ।

डिआर घिमिरे
बरिष्ठ पत्रकार तथा विश्लेषक
निर्वाचन तोकिएको समयमा भैदिए त असाध्यै राम्रो हुन्थ्यो । तोकिएकै समयमा निर्वाचन भए मुलुक लयमा आउथ्यो । तर तोकिएकै समयमा चुनाव हुनका लागि जसले जेनजीको नाममा भदौ २४ गते बिध्वंश मच्चाए त्यही समूहले नै चुनाव समयमा गर्न दिँदैनन् । अहिले उनीहरु आफ्नो पक्षमा जनमत कसरी ल्याउन सकिन्छ भन्नेमा छन् । यही अवस्थामा उनीहरुको जनमत आउने वाला देखिदैन् । आफ्नो पक्षमा जनमत नआउदासम्म उनीहरु चुनाव गराउने पक्षमा छैनन् । भदौ २३ गतेका जेनजी र २४ गते विध्वंश मच्चाउने समूह फरक हो भन्ने कुरा पनि बुझाउन जरुरी छ । अहिलेको अवस्थामा राजनीतिक दलहरुलाई निषेध गरिएको छ । जनताको बीचमा राजनीतिक दलहरुलाई जानका लागि रोक लगाइएको छ । यस्तो अवस्थामा कसरी तोकिएको समयमा निर्वाचन सम्भव हुन्छ र ? यस्तै अवस्थामा तोकिएको समयमा चुनाव हुने कुरा जटिल छ । सुरक्षा समितिको बैठक बसेको भरमा सबै तयारी पुरा भयो भन्न सक्ने अवस्था छैन । यो अवस्थामा निर्वाचन सम्भव छैन् ।

जीवनारायण अधिकारी
प्राध्यापक तथा अनुसन्धानकर्ता
निर्वाचन त्यति सहज होला जस्तो लाग्दैन । शान्ति सुरक्षाको सवाल पेचिलो बन्दैछ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले समग्र सुरक्षा निकायको मनोबल घटेको छ । पूर्व प्रहरी प्रमुखलाई नै छानविनको दायरामा ल्याउने कुरा, विभिन्न कारागारबाट भागेका कैदीबन्दी र सुरक्षाकर्मीबाट लुटिएका हातहतियारका कारण थुप्रै असुरक्षाहरु रहेका छन् । अहिलेसम्म जेनजीको मागको विषयमा सरकारबाट कुनै खाका आएको छैन् । अन्तरिम सरकार त्यस्ता विषयमा प्रवेश गरेकै छैन् । अर्कोतर्फ जेनजीहरुले आफ्ना माग सम्बोधन नभएसम्म निर्वाचन गर्न दिदैनौं भन्ने कुरा आएको छ । अहिलेको परिस्थितिमा ठूला भनिएका राजनीतिक दलहरुलाई भाग लिन सहज वातावरण देखिदैन् । त्यस कारण तोकिएको समयमा निर्वाचन हुनेमा कुरामा ढुक्क छैन ।

गौमती सुनार (दिपा)
अधिवक्ता,अधिकारकर्मी
अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको समय तोकेको छ । निर्वाचन समयमै गराउँछु भन्दै प्रधानमन्त्री लागिरहनु भएको छ । हेर्दा चुनाव समयमै हुन्छ की जस्तो पनि लाग्छ । ठूला राजनीतिक दलहरु संसद पुनःरस्थापना गराउनका लागि लागिपरेका छन् । विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुले बाहिर आएर पनि विभिन्न घटना घटाएका समाचारहरु बाहिर आएका छन् । यस्तो डर र भयको अवस्थामा कसरी निर्वाचन सम्भव हुन सक्छ र ? सुरक्षाको हिसाबले पनि निर्वाचन समयमै हुनेमा शंका छ ।

अन्य

भिडियो