INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँमा ८ हजार ३ सय ६६ मतदाता थपिए

तनहुँमा ८ हजार ३ सय ६६ जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिएकोमा जिल्लामा ८ हजार ३ सय ६६ मतदाता थपिएका हुन् ।

असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेकोमा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो ।

लम्सालका अनुसार कार्यालयमै पुगेर ३ हजार २ सय जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या १ हजार ३ सय ८२ र पुरुषको सङ्ख्या १ हजार ८ सय १८ रहेको छ । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत ५ हजार १ सय ६६ जनाले नाम दर्ता गराएका छन् ।

राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको छ । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।

यसैगरी ९ सय ६ जनाले ठाउँसारी र २ सय ९७ जनाले त्रुटी सच्याउनका लागि कार्यालयमा निवेदन दिएको लम्सालले बताउनुभयो । ०८२ असोज ८ गतेसम्म जिल्लामा २ लाख ४७ हजार ४ जना मतदाता छन् । त्यसमध्ये १ लाख १९ हजार ८९ पुरुष र १ लाख २७ हजार ९ सय १५ महिला रहेको कार्यालयले जनाएको छ ।

तनहुँमा दुईवटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक–एक मतदान केन्द्र रहेकामा थप एक–एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोही बमोजिम आयोगमा पठाइएको जानकारी दिनुभयो । जिल्लाका दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ३ सय ५ मतदान केन्द्र छन् ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो