INSEC Online

📅 २०८३ जेष्ठ २१

विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको प्रसूति सेवा ठप्प

प्रदेश अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा प्रसूति सेवा बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालबाट बाहिरिएपछि गत महिनादेखिनै प्रसूति सेवा ठप्प हुँदा प्रसूति सेवा लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता सृजना भएको छ ।

‘विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने भन्दै पठाएपछि पोखरा जान बाध्य भए, आफ्नै जिल्लाको अस्पतालमा सेवा पाउन सकिन’ बेनी अस्पतालबाट प्रसूति सेवा लिन पोखरा जाँदै गरेकी एक गर्भवतीका पतिले भन्नुभयो । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य डेलिभरी हुने अवस्थामा जटिलता आउन सक्ने भन्दै डेलिभरीका लागि रिफर गर्ने गरिएको बिरामीको गुनासो छ ।

म्याग्दी, पर्वतको जलजला गाउँपालिकाबाट आउने गर्भवतीलाई समस्या भएपनि हालसम्म प्रदेश सरकारले चिकित्सक पठाउन सकेको छैन । केही बर्ष अगाडी बागलुङ र धौलागिरी अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रिफर गरेको गर्भवती महिलाको बेनीमा सफल शल्यक्रिया गरेको सर्वत्र चर्चा भएको थियो तर अहिले जनशक्ति अभावमा प्रशुति सेवा ठप्प प्रायः छ ।

बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रामु सापकोटाले स्त्री तथा प्रसुती रोग विशेषज्ञ नहुँदा सेवा प्रभावमा समस्या भएको बताउनुभयो । ‘हाल हामीले विज्ञापन गरेको र त्यस विज्ञापनमा कोही आउनु भएन, प्रदेश सरकारलाई पनि समस्याका बारेमा जानकारी गराएका छौँ तर पनि हालसम्म चिकित्सक आउनु भएको छैन उहाँले भन्नुभयो ।

हाल हाडजोर्नी तथा नशा रोग बाहेक अन्य शल्यक्रिया सेवा समेत ठप्प रहेको छ । सरकारी अस्पतालप्रति सर्वसाधारणको सकारात्मक धारणा बनेपनि प्रसूति सेवाका चिकित्सक नहुँदा विपन्न महिलाले समेत उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था बनेकाले गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयलाई पटकपटक अनुरोध गर्दा समेत सुनुवाई नभएको जिल्ला समन्वय समितिकी म्याग्दीकी कार्यबाहक प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो । बेनी अस्पतालको नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि बिरामीको चाप दैनिक बढ्दै गएको छ ।

बहिरङ्ग विभागमा पर्याप्त चिकित्सक भएपनि प्रसूति सहितको सेवा ठप्प हुँदा समेत जिल्लाका जनप्रतिनिधि तथा सरोकारवाला निकायको ध्यान जान सकेको छैन । अस्पतालले अन्तरङ्ग र बहिरङ्ग सहित हाडजोर्नी, दन्त, आँखा, बालरोग उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालिन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । बेनी अस्पतालमा बर्षेनी ६० हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका डा.सापकोटाको भनाइ छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो