कक्षा दशमा अध्यायनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोट नपा–११ मा रहेको मुकुन्दसेन बोर्डिङ स्कुलका प्रधानाध्यापक राजेन्द्र पौडेललाई पुस २८ गते गिरफ्तार गरेको छ ।
एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी छात्रालाई प्रधानाध्यापक पौडेलले पुस २८ गते संवेदनशील अङ्गमा हात पुर्याएको भन्दै पीडित छात्राले अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको पीडित पक्षको आरोप छ ।
घटना बाहिर आएपछि पीडित पक्षले विद्यालय घेराउ गरेका थिए । विद्यालय घेराउको क्रममा प्राप्त मौखिक उजुरीको क्रममा आरोपित प्रधानाध्यापक पौडेललाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्स्पेक्टर लोकबहादुर जिसीले बताए ।
घटनास्थलको वातावरण र मौखिक उजुरीका आधारमा प्रधानाध्यापकलाई गिरफ्तार गरिएको भएपनि हालसम्म प्रहरीमा लिखित उजुरी नपरेको इन्स्पेक्टर जिसीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।