INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारलाई किताब अभियानको उपसमिति गठन, सह–संयोजकमा इन्सेक जिल्ला प्रतिनिधि केसी

कर्णाली प्रदेश सरकार अन्तर्गत कारागारलाई किताब अभियान सफल बनाउनका लागि पुस २९ गते एक कार्यक्रमका बीच जिल्लास्तरीय उपसमिति गठन गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘कारागारका बन्दीहरूको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ ।’ भन्ने नाराका साथ सुरू गरिएको यस अभियानको उपसमितिको संयोजकमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी सुमित खड्का, सह–संयोजकमा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसी र सदस्य–सचिवमा इन्स्पेक्टर प्रमोद क्षेत्री रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, कारागारका जेलर, प्राज्ञिक व्यक्ति, सञ्चारकर्मी लगायत ११ सदस्य रहेको उक्त उपसमितिले रूकुम कारागारमा रहेका कैदीबन्दीहरूका लागि अध्ययन गर्न पुस्तकालय स्थापना गर्ने बताइएको छ ।

यसका लागि स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूका साथै सहयोगी व्यक्तिहरूबाट नगद तथा पुस्तक सहयोग लिइने डिएसपी खड्काले बताए ।

प्रहरीले घटनापछि अपराधि पक्राउ गर्ने मात्र नभई सचेतनामूलक काम पनि गर्नुपर्ने नयाँ अवधारणा अनुसार विभिन्न क्रियाकलापहरू गर्दै आएको उनको भनाई छ ।

पुस्तकालय सञ्चालनका लागि केही बजेट भएपनि त्यसले नपुग्ने भएकोले अभियानमार्फत सहयोग लिएर यसलाई पूर्णता दिइने डिएसपी खड्काले बताए ।

कैदीबन्दीलाई सभ्य मानव भएर बाँच्न सिकाउनका लागि यो पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समितिका उपप्रमुख इन्दिरा विएमले बताइन् ।

मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले पहिले जेलमा यसरी पुस्तक पढ्न नपाइएको सुनाउँदै कहिलेकाँही बन्दीहरूलाई भेट्न जाँदा पुस्तकको माग गर्दै आएकोले त्यसको पूर्ति यस अभियानले गर्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जेलभित्र पढ्न पाउने बन्दीहरूको अधिकारलाई समेत यसले प्रवर्धन गर्ने धारणा राखे । कारागारप्रतिको दृष्टिकोण फेर्ने र गल्तीको महसुस गरेर सुधार गर्न पुस्तकालयले सहयोग गर्ने उनको भनाई छ ।

अन्य

भिडियो