नौमूले गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उनकी पत्नी ४२ वर्षीया दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा पुस २६ गते घरेलु हिंसा मुद्दा दर्ता गराएकी छिन् ।
नौमूले गाउँपालिका-३ द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरले पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको मुद्दामा माओवादी युद्धताका घरमा जेठी पत्नी हुँदाहुँदै २०५८ मङ्सिर ९ गते ललाईफकाई प्रपञ्च गरी कान्छी पत्नी बनाएको उल्लेख छ ।
यो मुद्दामा विवाह गरी भारतको जोशीमठमा मजदुरी गरी कमाएको रकमले बुटवलको देवीनगरमा किनेको जग्गामा जेठी पत्नी धनकली बुढा र उनीबाट दुई छोराहरूलाई मात्र घर बनाई बसालेको तर बेवास्ता गरेको उल्लेख छ ।
अध्यक्ष बुढाले आफूलाई गरेको कुटपिट घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा ३ अनुसार कसूर भएकाले उपदफा १३ को १ (क) बमोजिम सजायको मागदावी गरिएको छ । सो दफामा २५ हजार रुपियाँसम्म जरिबाना र ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।
आरोपित पति गाउँपालिकाको अध्यक्ष पदमा बहाल रहेको बेला आफू माथि कुटपिट गरेको कारण घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा १३ उपदफा (४) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिलाई हुने १० प्रतिशत थप सजाय समेत पाउँ भनी माग गरिएको छ ।
यस बारे प्रतिक्रिया माग्दा-‘म सबैको हित र कल्याण गर्दै आएको व्यक्ति घर मिलाउन प्रयत्न गर्दै थिएँ । कोही उचाल्ने पछार्नेहरूको लहलहैमा उजुरी पर्यो होला ।’ कानुनी प्रक्रियामा गएकोले बाँकी सबै अदालतमा बताउने गाउँपालिका अध्यक्ष बुढाले टिप्पणी गरे ।