INSEC Online

📅 २०८३ जेष्ठ २१

तालाबन्दीका कारण स्वास्थ्य सेवा प्रभावित

सुर्नया गाउँपालिकामा तालाबन्दी गरेको एक महिना बितिसक्दा समेत ताला नखुलेपछि यस क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित बनेको छ । तालाबन्दीले स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य चौकीले जनाएका छन् ।

स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायतका अत्यावश्यक औषधिको अभाव भएको सुर्नया गाउँपालिका–३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीका प्रमुख दलबहादुर बिष्टले बताउनु भयो । औषधि अभावमा सामान्य चोटपटक लागेकाहरुलाई उपचार गर्न पनि सकिने अवस्था नरहेको उहाँले बताउनु भयो । संस्थामा औषधि नहुँदा सेवाग्राहीलाई रित्तो हात फर्काउनु परेको स्वास्थ्य चौकी इन्चार्ज बिष्टको भनाइ छ ।

स्वास्थ्य चौकीमा सामान्य सामग्री पनि उपलब्ध नहुँदा सुत्केरी सेवा समेत प्रभावित हुने अवस्था आएको बाशुलिङ्ग स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्रसिंह बिष्टले बताउनु भयो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुबाट औषधि लगायतका स्वास्थ्य उपकरणको अभाव हुन थालेको बताउनु भयो ।

गाउँपालिकाले स्वास्थ्य उपकरण सहितका औषधि आपूर्तिको लागि टेन्डर आह्वान गरेको तर तालाबन्दीका कारण ठेक्का सम्झौता गरी औषधि खरिदको प्रक्रिया अघि बढाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।

सेवा सम्बन्धमा सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गतेदेखि नव युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसयता सो कार्यालयमा लगाइएको ताला खुलाउन संवाद तथा बहसहरु भइरहेको भए पनि सहमति हुन नसक्दा तालाबन्दी कायमै छ ।

नरी बडु

अन्य

भिडियो