जेनजी आन्दोलनका क्रमममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, विर्तामोडमा तोडफोड गरी प्रहरीको गोली लुटेको आरोपमा प्रहरीले कात्तिक २६ गते दुई जनालाई गिरफ्तार गरेको छ ।
बाहृदशी गाउँपालिका-४ चकचकी स्थायी घर भइ विर्तामोड नगरपालिका २ का लालबहादुर गिरीको घरमा डेरा गरी बस्दै आएकी २७ वर्षीया ईस्रप खातुन र विर्तामोड नगरपालिका-२ का २२ वर्षीय विकास टुडुलाई विर्तामोड नगरपालिका २ रामचोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
आरोपित खातुनको कोठाबाट एसएलआर राइफलको २८ राउण्ड गोली र इन्सास राइफलको १६ राउण्ड गोली बरामद गरिएको छ । खानतलासीका क्रममा प्रहरीको एक थान बुट, काँसको थाल, करुवा र पित्तलको गिलाससमेत बरामद गरिएको डिएसपी खड्काले बताउनु भयो ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विकास टुडुले इलाका प्रहरी कार्यालय, अनारमनीबाट गोली लुटेको र खातुनको कोठामा लगेर राखेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी खड्काले बताउनु भयो ।
आरोपित दुवै जनालाई लागू औषध नियन्त्रण व्यूरो काड्डभिट्टा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोलीले विर्तामोड नगरपालिका-२ बाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।