४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले म्यादी जिल्ला अन्नपूर्ण गाउँपालिका–५ स्थायी घरभई सैनामैना नगरपालिका—६ मा बसी ज्याला मजदुरी गर्ने २३ वर्षीय विश्वास नेपालीलाई ३ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको कात्तिक २३ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ३ वर्ष ६ महिना कैद सजाय, २५ हजार रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराइदिने र ८ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८२ वैशाख २९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जेठ ४ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो । प्रहरीले आरोपितलाई जेठ २ गते मुर्गीयाबाट गिरफ्तार गरेको थियो ।