विभिन्न घटनामा पीडित भएका महिलाहरुसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा सिन्धुपाल्चोकमा ०८२ कात्तिक २२ गते छलफल कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजना र बागमती प्रदेश कार्यालयको संयोजनमा आयोजित पीडितहरुसँगको छलफलमा ब्रेड फर द वल्डकी कार्यक्रम संयोजक डेर्विसाकी निकोल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल, इन्सेक केन्द्रीय कार्यालयका कृष्ण नेपाल तथा इन्सेक प्रतिनिधि नातिबावु धिताल सहितको टोलीले विभिन्न घटनाबाट पीडित भएर न्यायमा पहुँच पु¥याउन विभिन्न समयमा इन्सेकले गरेको सहयोगका विषयमा छलफल भएको थियो ।
छलफल कार्यक्रममा सशस्त्र द्वन्द्वमा राज्यपक्षबाट गिरफ्तार गरी गम्भीर यातना दिइएकी चुक्तमाया चौलागाई, घरेलु तथा सामाजिक हिंसामा परेकी सीता श्रेष्ठ र नौ वर्षको उमेरमा दाजु नाता पर्ने व्यक्तिबाट बलात्कार भएर जोखिममा परेकी बालिकासँग उनीहरुको हालको अवस्था बारे छलफल गरिएको छ ।
घटनाबाट पीडित भएका ती महिलाहरुलाई इन्सेकले आर्थिक, भौतिक लगायत विभिन्न सवालमा उनीहरुको अधिकार स्थापित गर्ने सन्दर्भमा सहयोग पु¥याएको थियो ।
छलफलमा पीडित महिलाहरुले आफुलाई दुःख, विपत्ति र संकट परेको अवस्थामा इन्सेकले पु¥याएको सहयोग जिवनभर नबिर्सने भन्दै इन्सेकको सहयोगले आफुलाई बाँच्ने आधार बनेको बताएका छन् ।
पीडितहरु संगको बैठकमा ब्रेड फर द वल्डकी कार्यक्रम संयोजक डेर्विसाकी निकोलले पीडितहरुको घटना र उनीहरुले गरेका संघर्षहरुको विवरण सुनेपछि तपाईंहरु साहसी महिला भएको र पीडामा परेका अन्य महिलाहरुलाई पनि उत्प्रेरणा दिनुपर्ने धारणा राख्नुभयो ।
महिलाहरुको मनोबल बढाउन इन्सेकले गरेको सानो सहयोगले पीडित महिलाहरुको जिवनमा ठूलो प्रभाव परेकोले यस कार्यलाई निरन्तरता प्रदान गरिने इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले बताउनुभयो ।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले महिलाहरुको मानव अधिकार स्थापित गर्ने काममा इन्सेक सधैभरी पीडितहरुको पक्षमा हुने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि नातिबावु धितालले गर्नुभएको थियो ।