INSEC Online

📅 २०८३ जेष्ठ २२

सुविधामा आएको चामल दोब्बर मूल्यमा विक्री !

नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाद्वारा सुविधामा आएको चामललाई खाद्यान्न वितरणका क्रममा स्थानीयबासीबाट दोब्बर रुपियाँमा विक्री गर्ने गरेको सेवाग्राहीले आरोप लगाएका छन् ।

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्धेश्यले सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा दोब्बर रुपियाँ तिर्नु परेको सिमकोट गाउँपालिका–२ ठेहेकी कुण्डला भण्डारीले आरोप लगाएकी हुन् ।

उनले भनिन्–“यसअघि खाद्यन्न वितरणमा ३० किलो चामलको मूल्य १ हजार ५० रुपियाँ पर्ने गरेको थियो । यसपटक ३० किलो चामलको १ हजार ९ सय ७० रुपियाँ तिर्नुपर्‍यो ।”

खाद्य संस्थान शाखा कार्यालयबाट पुस १८ गतेदेखि बजारको कोटा भाग, कर्मचारी र सिमकोट गाउँपालिकाको १ देखि ८ वटै वडामा वितरणका क्रममा ३० किलो चामलको संस्थानले मूल्य निर्धारण नगरी खाद्यान्न विक्री वितरण गरेको पाइएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट निजी एयरलाइन्सद्वारा ढुवानी हुँदै आएको खाद्यान्न यसपटक हुम्लामा स्थानीयले भने जतिको मूल्यमा नपाएपछि सेवाग्राही मर्कामा परेको सिमकोट गाउँपालिका–२ ठेहेकी विमला ऐडीले गुनासो गरिन् । उनले भनिन्–‘यो पटकको चामल पहिलाको जस्तै छ । तर, महङ्गोमा किन्नुपर्दा हामी मर्कामा परेका छौँ ।’

उक्त खाद्यन्न वितरणमा मूल्य अनियमितता भएको भन्दै हुम्लीबासी जताततै कुरा उठान गर्न थालेको अर्का स्थानीय हस्तबहादुर शाहीले गुनासो गरे । उनले भने–‘३० किलो चामलको बढीमा १ हजार ७ सय ५० रुपियाँ पर्नुपर्ने हो, यसरी खाद्यान्नले दोब्वर मूल्य असुल्न कसरी मिल्छ ?’

सडक र सवारी साधन नपुगेको विकट जिल्लामा जहाजले तोकिएको कोटाको चामल उपलब्ध गराउन नसकेको पनि गुनासो छ ।

जिल्लामा अनुदानको चामल किनेर खाँदा पनि यसरी महङ्गो रुपियाँ हालेर खानु परेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् ।

खाद्य संस्थान शाखा कार्यालयका प्रमुख रामबहादुर विष्टका अनुसार जहाजको भाडा नेपालगञ्जबाट १ सय २० रुपियाँ छ । ‘त्यसैले चामल महङ्गो भएको हो ।’–उनले भने–‘अघिल्ला वर्षमा हवाई भाडा कम थियो । यो वर्ष भाडा बढी परेकाले सबैलाई वितरण गर्दा महङ्गोमा दिनु परेको हो ।’

उक्त खाद्यान्न वितरण गर्दा स्थानीयले यस पटक ३० किलो चामलको १ हजार ९ सय ७० रुपियाँमा किन्ने गरेको भन्दा, खाद्य प्रमुखले अघिल्लो वर्षको खाद्यान्न ढुवानी गर्दा घाटा परेकाले त्यो बेलाको ढुवानी उठाउनु पर्ने भएको हुँदा बढी रुपियाँ पर्न गएको भनी जबाफ दिने गरेको स्थानीयबासी कालु भण्डारीले बताए ।

कार्यालय प्रमुख विष्टले नेपालगञ्जबाट खाद्यान्न ढुवानी गर्दा एक किलो चामलको १ सय २० रुपियाँ तिर्नु पर्ने भनेको भए पनि सीता एयरका कर्मचारी धनराज शाहीले नेपालगञ्जबाट प्रति किलो १ सय १५ र सर्खेतबाट १ सय ५ रुपियाँ लिदै आएको दावी गरे । उनले भने पहिला र अहिले एउटै मुल्य रहेको बताए ।

अन्य

भिडियो