सैनिक हिरासतमा चरम यातना पाएको भन्दै बर्दियाको मधुवन नपा-७ का २१ वर्षीय पदमबहादुर खड्काले पुस २२ गते अदालतको आदेश बमोजिम क्षतिपुर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा निवेदन दर्ता गराएका छन् ।
बर्दिया जिल्ला अदालतले सैनिक हिरासतमा यातना दिएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत यातना पीडित पदमबहादुर खड्कालाई ५० हजार रूपिँया क्षतिपुर्ति रकम भराई दिने फैसला गरे बमोजिम यातना पीडित खड्काले निवेदन दर्ता गराएका हुन ।
सात वर्षको न्यायिक लडाई लडेका पीडित खड्काले औषधोपचारमा मात्रै १ लाख रूपिँयाभन्दा बढी खर्च भएको बताए ।
यातनाबाट आफ्नो शरीर अझै कमजोर भई समस्या देखिने गरेको बताउँदै अदालतको फैसला अनुसार क्षेतिपुर्ति चाँडै पाए पनि केही राहत हुने पीडितले बताए ।
तर, अदालतको फैसला भएको यति वर्षबितिसक्दा पनि कार्यान्वयन नहुँदा मुद्दा जिते पनि न्यायको अनुभूति गर्न नपाएको खड्काले बताए । यातना पाउँदा पीडित १४ वर्षमा थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बन्जिरिया पोष्टमा खटिएको नरसिँह दल गणका प्युस मानबहादुर खड्काले पदमबहादुरलाई यातना दिएर सख्त घाइते बनाएका थिए ।
पीडित पदमले आफुलाई यातना दिएको आरोप लगाउँदै बर्दिया जिल्ला अदालतमा ०६८ कात्तिक २५ गते मुद्दा दर्ता गराएकोमा अदालतले ०७२ चैत ३ गते आरोपित मानबहादुर खड्कालाई दोषी ठहर गर्दै २ हजार जरिवाना, विभागीय कारवाही र पीडितलाई नेपाल सरकारबाट ५० हजार रूपिँया क्षतिपुर्ति दिनु पर्ने फैसला गरेको थियो ।
नेपाल सरकारबाट क्षतिपुर्ति दिनु पर्ने फैसला कार्यान्वयनका लागि आफ्नो तर्फबाट प्रक्रिया बुझेर अगाडि बढाउने जिल्ला प्रशासन कार्यालय बर्दियाका सिडिओ रामबहादुर कुरूवाङ्गले बताए ।