INSEC Online

📅 २०८३ जेष्ठ २२

स्रोतसाधनको अभावले निर्वाचन कार्यक्रममा समस्या

जेनजी आन्दोलनका क्रममा सवारी साधन आगजनी भएपछि लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङलाई निर्वाचन कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा तोकिएका कार्यक्रमको अनुगमन, मतदान स्थल निरिक्षणलगायतका कार्यमा समस्या भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्रबहादुर कवरले जानकारी दिनुभयो । आगामी निर्वाचनका लागि जिल्लाका दुर्गम क्षेत्रमा मतदान स्थलको माग भइ आएको तर त्यसको अनुगमन निरीक्षणका लागि जाने व्यवस्था र वजेट समेत नभएकाले समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयमा रहेको एउटा हलुवा सवारी जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते आगजनी हुँदा क्षतिग्रस्त अवस्थामा छ भने अर्को सवारीको व्यवस्था पनि नभएकाले मतदान स्थल चयन र निर्वाचन सामग्रीको ओसारपसारमा पनि बाधा पुग्ने सूचना अधिकारी कवरले बताउनुभयो । ०७९ को निर्वाचनमा दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र थिए । तर अहिले तुलसीपुर र गढवा गाउँपालिकाबाहेक जिल्लाका आठ वटा स्थानीय तहबाट ११ वटा मतदान स्थल थप गर्नुपर्ने भन्दै सिफारिस आइपुगेको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगर पालिका, लमही  नगरपालिका, ववई, शान्तिनगर, दंगीशरण, बंगलाचुली, राप्ती र राजपुर गाउँपालिकाले मतदान स्थल टाढा भएकाले थप गर्नुपर्ने भन्दै प्रदेश निर्वाचन कार्यालयमा सिफारिस गरेका छन् । ती मध्ये सबैभन्दा समस्या राजपुर गाउँपालिकाको भारतीय सीमासँग जोडिएका नाकामा रहेको कार्यालयले जनाएको छ । तर त्यहाँ पुग्न सार्वजनिक सवारीको सुविधा समेत नरहेको र आफ्नो कार्यालयको पनि सवारी जलेकाले स्थलगत अनुगमन जान समस्या भएको सूचना अधिकारी कवरले बताउनुभयो । त्यसैगरी घोराही, राप्ती, बंगलाचुलीसँगै बबई गाउँपालिकाको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि समस्या भएको कार्यालयले जनाएको छ । कार्यालय आफै तत्काल पुग्न नसक्ने अवस्था भएकाले कात्तिक २० गते घोराहीमा बसेको सर्वदलिय बैठकबाट कुन कुन पालिकामा कुन कुन वडामा समस्या रहेको र कति मतदाताहरुलाई समस्या परेको भन्ने छुट्याएर पठाउन वडा कार्यालयलाई जिम्मेवारी दिइएको छ ।

वडाले दिएको प्रतिवेदनका आधारमा स्थलगत अनुगमन गरी निर्वाचन आयोगमा पठाइने सूचना अधिकारी कवरले बताउनुभयो ।

जयनारायण पुन

अन्य

भिडियो