०६१ मा नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । सोही वर्षको चैतमा हुने एसएसलसी परीक्षाका लागि तयारी गरीरहेका विवन राई घरबाट सखारै ट्युशन सेन्टर तिर हिँडे ।
उनलाई अपरिचित हतियारधारीले बीच बाटोबाटै आफूसँगै लगे । साविकको भुल्के गाविस हाल रामप्रसाद राई गाउँपालिका-३ मा विवनकी आमा दीलकुमारी र बावु गुणराज राईले छोरो आउने दिन गन्दै वर्षौँ बिताए । छोरो नफर्केपछि खोज्न थाले । प्रहरी र अदालतमा उजुरी गर्दागर्दै परिवारको ३ वर्षबित्यो । छोरो खोज्न सबै जायजेथा बेचे । तर, उनीहरूले छोरा भेट्न सकेनन् । ०६२ असार ८ गतेबाट उनको कुनै अत्तोपत्तो थिएन ।
छोरो हराएको पीडामा बावु गुणराज दिनरात रक्सीले मात्न थाले । अत्यधिक रक्सी सेवनले ०७३ सालमा उनको ज्यान गयो । छोरो नभेटिँदाको पीडाले मर्माहत तुल्याएको दिलकुमारीलाई पतिवियोगले आघात पार्यो । ‘आत्महत्या गरूम् झैँ लागेको थियो । छोरो फर्केला भन्ने आशले मर्न पनि सकिनँ ।’
गुणराज बितेको एक वर्षपछि ०७४ साल भदौ १५ गते साँझतिर दिलकुमारीको घरमा एक युवक आए । पिँढीमै आएर ‘आमा’ भनी बोलाएपछि दिलकुमारीको होसहवासै उड्यो । ट्वाल्ल परेर एकनास हेरेपछि छोरा चिनिन् । तर, उनलाई विश्वास गर्न गाह्रो परिरहेको थियो ।
गाउँकाले मर्यो भनेको छोरो जिउँदै आफ्नै अगाडि आएको देखेपछि उनका आँखा रसाएनन् मात्र, भक्कानो छाडेर रून थालिन् । विवन घर त फर्किए तर उनको स्वास्थ्य अवस्था पहिलेजस्तो थिएन । टाउकोभरी चोटका दाग, पहिले जस्तो नबोल्ने, घरीघरी बोल्ने, सुस्तमनस्थिति जस्तो उनको हाउभाऊ देखिन्थ्यो ।
‘भगवानले छोरो त फर्काइदियो तर मेरो छोरोलाई कसले कसरी यस्तो बनाइदियो ? पहिले जस्तो हाँस्ने बोल्ने गर्दैन, एक्लै धुम्मिएर बस्छ । खै के भयो ?’-आमा दिलकुमारीले भनिन्-‘उसलाई जबरजस्ती लानेहरूले आँखामा पट्टी बाँधेर लगेको रे ! कहाँ लगेको थाहा थिएन भन्छ । मेरो छोराको यस्तो हालत बनाइदिने पापीहरूलाई भलो नहोस् !’
तर, छोरो खोज्दाखोज्दै १२ वर्षबितिसक्दा पनि छोरोको मायाले आघात बनेकी दिलकुमारीको मनमा राहत मिलेको छ । भनिन्-‘छोरो नभेटिए पनि उसको मायाले होला बाँच्न त बाँचेकै होला । एकदिन बाबुआमा सम्झेर घर त फर्केला नि भन्ने आश थियो । छोरो पाएँ त्यसैमा सन्तुष्ट छु ।’
दाजुलाई स्कुलबाटै बेपत्ता पारेपछि उनका माइला भाइ रविनले स्कुल जान छाडेको बताए । दाजुलाई जस्तै अपहरण गरेर लाने डरले उनले विद्यालय नै त्यागेको विगत उनले सुनाए । उनले भने-‘दाजुलाई स्कुलबाटै बेपत्ता पारिदिए ! मलाई पनि बेपत्ता पार्छन् कि भन्ने डरले पढ्न जानै छाडेँ ।’ विवनका २ भाइ र २ बहिनी छन् ।
इन्सेकले तयार पारेको बेपत्ता व्यक्तिहरूको सूचीमा राईको नाम समाविष्ट गरिएको छैन । भोजपुरबाट ६ जनालाई बेपत्ता पारिएको अभिलेख राखिएको इन्सेकले जनाएको छ । इन्सेकले द्वन्द्वपीडित पार्श्वचित्रमा ९ सय ३१ जनाको सूची राखेको छ । सरकारी अभिलेखहरूमा भने १ हजार ५ सयको हाराहारीमा फरकफरक तथ्याङ्क राखेको पाइन्छ । स्थानीय शान्ति समितिहरूले तयार पारेका त्यस्ता अभिलेखहरूमा फरकफरक आँकडाहरू प्रस्तुत गर्ने गरिएको छ ।