INSEC Online

📅 २०८३ जेष्ठ २१

इञ्जिनियरलाई वडा अध्यक्षको धम्की

प्रदेश सरकारबाट विनियोजित सडक योजनाको सर्भे गर्न आएका इञ्जिनियरलाई सुर्नया गाउँपालिका–६ का अध्यक्ष जयबहादुर कुँवरले जुत्ताको माला लगाउने धम्की दिएपछि इञ्जिनियरले तनाव भएको बताएका छन् ।

सुदूर पश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले बैतडीको विजयपुरलाई सडक सञ्जालसँग जोड्न १ करोड रुपियाँ विनियोजित गरेको छ ।

उक्त सडक सर्भे गर्न आएका इञ्जिनियर कोषराज जोशीको प्राविधिक टोली सुर्नया गाउँपालिका पुग्दा वडाध्यक्ष कुँवरले लिखित निर्देशन दिएका छन् ।

उक्त निर्देशन नमाने जुत्ताको माला लगाउने धम्की पाएको इञ्जिनियर जोशीले बताए । २० किलोमिटर सडकको सर्भे गर्ने क्रममा आफूले भनेको ठाउँबाट सडक सर्भे नगरे जुत्ताको माला लगाउने धम्की दिएको बताउँदै इञ्जिनियर जोशीले भने–‘मसँग त्यसको कल रेकर्ड छ ।’

वडाध्यक्ष कुँवरले भने जनताले स्कुल र हेल्थपोष्ट छोएर सडक लैजानु पर्ने माग गरेकोले लिखित निर्देशन दिएको प्रतिक्रिया दिए । जनताले माग गरेको ठाउँबाट सर्भे नगरे त्यसको जिम्मेवारी प्राविधिकले लिनुपर्ने मात्रै भनेको वडा अध्यक्ष कुँवरको भनाई रहेको छ ।

स्थानीय भगिरथ कुँवरका अनुसार हेल्थपोष्टमा यस अघिनै सडक पुगिसकेको छ । एक वर्षअघि आफैँ सडक उपभोक्ता समितिको अध्यक्ष भएर हेल्थपोष्टसम्म सडक पु¥याएको भगिरथ कुँवरले बताए । विजयपुर जाने सडक पनि हेल्थपोष्ट भएर लैजाँदा लामो हुने उनले बताए ।

सुर्नया गाउँपालिकाबाट पुरचौडी नगरपालिकाको विजयपुर पुग्ने सडक भएकाले स्कुल र हेल्थपोष्ट भएर सर्भे गर्दा सडकको ग्रेड नमिल्ने इञ्जिनियर कोषराज जोशीको भनाई छ ।

‘साना सडक स्थानीय तहको सरकार आफैँले निर्माण गर्न सक्छ । यो सडक योजना प्रदेश स्तरीय भएकाले टोलटोलमा घुमाउन सकिँदैन । प्राविधिक दृष्टिले त्यस्तो सडक उपयुक्त पनि हुँदैन ।’–इञ्जिनियर जोशीले भने ।

अन्य

भिडियो