‘मोन्था चक्रवात’ का कारण कोशी प्रदेशका विभिन्न जिल्लामा ०८२ कात्तिक १५ गतेदेखि कात्तिक १७ गतेसम्म परेको भारी वर्षाका कारण धान र तरकारी बाली गरी २ अर्ब ५ करोड रुपियाँ भन्दा बढीको क्षति भएको छ ।
कोशी प्रदेश सरकार, प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोशी प्रदेशमा धानबाली र तरकारी खेतीमा गरी २ अर्ब बढीको क्षति भएको हो ।
निर्देशनालयका अनुसार प्रदेशको १२ हजार ६ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २ सय ६७ मेट्रिक टन धान र तरकारी नष्ट भएको छ ।
प्रदेश कृषि विकास निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङले मोन्था चक्रवातका कारण भएको भारी वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा धानवाली र तरकारी खेतीमा गरी २ अर्ब ५ करोड ५४ लाख ३६ हजार ७ सय ९० रुपियाँ बराबरको क्षति भएको तथ्याङ्क सङ्कलन गरिएको बताउनु भयो । किसानले लगाएको धान बालीमा ठुलो क्षेत्रफलमा क्षति भए पनि किसानले बिमा नगरेका कारण क्षतिपूर्ति पाउने अवस्था नरहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार तराईका जिल्लामा काटेर सुकाउन राखिएको करिब २० प्रतिशत धान ढलेको र त्यसमध्ये २५ देखि ३० प्रतिशतसम्म क्षति भएको छ । त्यस्तै पहाडी जिल्लामा आठदेखि १० प्रतिशत धान ढलेकोमा करिब २५ प्रतिशत र हिमाली जिल्लामा पाँचदेखि छ प्रतिशत धान ढलेकोमा करिब २५ प्रतिशत क्षति भएको प्रदेश कृषि विकास मन्त्रालयले जनाएको छ ।
इन्सेक झापा प्रतिनिधि मनोज अधिकारीका अनुसार झापा जिल्लामा सबैभन्दा बढी अन्नवाली, तरकारी खेती र केराबालीमा क्षति भएको छ । भारी वर्षापछिको बाढीका कारण बाहृदशी गाउँपालिका गरिएको केराखेतीमा ठूलो क्षति पुगेको छ । जिल्लामा ४ हजार ३ सय ६४ हेक्टर क्षेत्रफलमा लगाइएको २१ हजार ८२० मेट्रिक टन धान नष्ट हुँदा करिब ७८ करोड ११ लाख ५६ हजार रुपियाँको नोक्सानी भएको छ । जिल्लाका कतिपय स्थानीय तहमा काट्न तयारी अवस्थामा रहेको धानबाली लडेर नष्ट भएको छ ।
इन्सेक मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा धानवालीमा सबैभन्दा बढी क्षति भएको छ । फूल खेल्दै गरेको धानसहित पाकेर काट्ने अवस्थामा रहेको धानबाली बाढीले डवानमा पर्दा मोरङका करोडौँ रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा ३ हजार ४ सय २१ हेक्टरको १६ हजार ४ सय २० मेट्रिक टन धानमा क्षति हुँदा ५८ करोड ७८ लाख ६४ हजार रुपियाँ बराबरको क्षति भएको छ । लेटाङ, मिक्लाजुङ, केराबारी,कानेपोखरी र बेलबारीको उत्तरी भागमा भने वर्षाका कारण कम क्षति भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा काट्ने बेला भएको १५ प्रतिशत धान पूरै लडेको छ । यस्तै १० प्रतिशत आंशिक लडेको छ भने काटेको ५ प्रतिशत धान उम्रिएर बिग्रिएको छ । जिल्लाका १७ ओटा स्थानीय तहमध्ये १२ ओटा स्थानीय तहमा तयारी अवस्थाको धान वर्षाका कारण नष्ट भएको छ ।
इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा २ हजार ८ सय ५१ हेक्टरमा लगाइएको १२ हजार ६ सय ५८ मेट्रिक टन धान नष्ट हुँदा ४५ करोड ३१ लाख ७२ हजार रुपियाँको क्षति भएको छ । २ सय हेक्टरमा लगाएको तरकारी बाली नष्ट हुँदा थप ४ करोड रुपियाँको नोक्सानी भएको छ । जिल्लामा ४ सय ५८ हेक्टरमा हुने कोदोखेतीमध्ये करिब १० प्रतिशतमा क्षति पुगेको कृषि ज्ञानमा केन्द्रले जनाएको छ । पानीका कारण काँक्रो, परवल, बोडी, घिरौँलालगायत तरकारी तथा बिरुवा पनि नष्ट भएको छ । जिल्लामा ५ सय ३० हेक्टर क्षेत्रमा हुने केरा खेतीमध्ये ८० प्रतिशत वर्षाका कारण नष्ट भएको छ । जिल्लाका देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राहा नरसिंह गाउँपालिकामा सबैभन्दा बढी धान, केरा र तरकारीखेतीमा क्षति पुगेको छ ।
इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार मोन्था चक्रवातका कारण जिल्लामा धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार ०८२ कात्तिक १२ गतेदेखि १७ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको हो । जिल्लामा २ हजार ५ सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजार ४ सय १५ मेट्रिक टन धान क्षति भएको छ । धान बाली कारण ४१ करोड ५२ लाख ९९ हजार रुपियाँ बराबरको क्षति भएको छ । जसमा काटिसकेको धान ४ हजार ५ सय ३० दशमलव २४ मेट्रिक टन, पाकिसकेर काट्न बाँकी रहेको ७ हजार ७ सय ९३ दशमलब ५२ मेट्रिक टन, कलिलो ढलेको धान ४ दशमलव ८ मेट्रिक टन र पाक्न बाँकी हरियो धान ८६ दशमलव ४ मेट्रिक टन क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना मगरले बताउनु भयो । त्यसैगरी, जिल्लामा १३ दशमलव ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ३० दशमलव सात मेट्रिक टन कोदो बाली क्षतिग्रस्त भएको छ । १५ लाख ३५ हजार २ सय ४० रुपैयाँ बराबरको कोदो बाली क्षति भएको हो । धनकुटामा २ हजार ६ सय ९ हेक्टरमा लगाइएको १२ हजार ४ सय ४४ मेट्रिक टन धान र कोदो क्षति हुँदा ४१ करोड ६८ लाख ३४ हजार २ सय ४० रुपियाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
इन्सेक भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा १८ हजार हेक्टर क्षेत्रमा भएको धानबालीमा भारी वर्षाका कारण क्षति भएको छ । अविरल वर्षाका कारण धानबाली नष्ट हुँदा भोजपुरका किसान चिन्तित भएका छन् । भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हुतुवागढी गाउँपालिका, अरूण गाउँपालिका पौवादुङमा गाउँपालिका लगायत नौ ओटै स्थानीय तहको १८ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । धान थन्क्याउने बेलाको बेमौसमी वर्षातले भने किसानलाई निराश बनाएको छ । कृषकको धान विभिन्न खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ । खेतमा लटरम्म फलेको धानमा वर्षाका कारण ठूलो नोक्सानी भएको भोजपुर नगरपालिका–५ बोखिमका कृषक धनबहादुर थापाले बताउनु भयो । खेतमा पाकेर पहेंलपुर भएको धान काट्ने बेलामा आएको वर्षातले सबै नष्ट गरिदियो अब के खाने होला, उहाँले चिन्ता व्यक्त गर्नु भएको छ । अरूण गाउँपालिकाका कृषक रामबहादुर दाहालले वर्षातले सबै धानबाली सखाप पारेको बताउनु भयो कृषि ज्ञान केन्द्र भोजपरका अनुसार जिल्लाभर १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
इन्सेक उदयपुर प्रतिनिधि राकेश नेपालीका जिल्लामा ३ सय २३ हेक्टर क्षेत्रफल जमिनमा भएको धानबाली मध्ये २५ प्रतिशतमा वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । त्रियुगा नगरपालिका–९ का ६० वर्षीय किसान जहरमान दनुवारले एक विघाहा क्षेत्रफल जमिनमा लगाएको धान पानीका कारण नष्ट हुँदा वर्षभरी भातखाने धान नभएको गुनासो गर्नु भएको छ । कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख महेशकुमार चौधरीले जिल्लामा २५ प्रतिशत धानबालीमा क्षति पुगेको बताउनु भएको छ । जिल्लामा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी करोडौँ मूल्य बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
इन्सेक खोटाङ प्रतिनिधि राजकुमार भट्टराईका अनुसार मोन्था चक्रवातका कारण जिल्लामा आठ प्रतिशत धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । यस वर्ष १३ हजार ५ सय १६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती भएकोमा आठ प्रतिशत क्षेत्र जमिनमा लगाइएको धानबालीमा वर्षाका कारण क्षति पुगेको छ ।
इन्सेक ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा मोन्था चक्रवातका कारण २ हजार २ सय ९३ हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानबाली, फापर र कोदोबालीमा क्षति पुगेको छ । आठ ओटै स्थानीय तहमा थन्क्याउने तयारी अवस्थामा रहेको बालीमा क्षति पुगेको हो । स्थानीय तहका कृषि शाखामार्फत कृषि ज्ञानकेन्द्रले सङ्कलन गरेको विवरण अनुसार ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफल जमिनामा लगाइएको धानबालीमध्ये ८ सय ८० हेक्टर, ७ हजार ७ सय ५१ हेक्टरमा लगाइएको कोदोबालीमध्ये १ हजार ३ सय ९५ हेक्टर र ९३ हेक्टरमा लगाइएको फापरमा १८ हेक्टरमा क्षति पुगेको छ ।
इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार मोन्था चक्रवातका कारण जिल्लामा १ सय २५ हेक्टर जमिनमा गरिएको धानखेती नष्ट भएको छ । जिल्लामा गरिएको धानखेती कोदोबालीमा क्षति पुगेको छ । काट्न लागेको अवस्थामा रहेको धानवाली मोन्था चक्रवातका कारण नष्ट भएपछि जिल्लाका किसानले भोकमरी लाग्ने बताएका छन् ।
इन्सेक सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार मोन्था चक्रवातका कारण अधिकांश क्षेत्रमा धानबाली र कोदोबालीमा क्षति हुँदा यस वर्ष १० प्रतिशतले उत्पादनमा गिरावट आउने अनुमान रहेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको नेचासल्यान, थुलुङदूधकोशी र सोताङको तल्लो क्षेत्रमा धान खेती हुँदै आएको छ । तल्लो क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत नै धान रहेको भएपनि मोन्थाका कारण बालीनाली स्वाहा भएपछि भोकमरीले सताउने चिन्ता थपिएको नेचासल्यान गाउँपालिकाका किसानले गुनासो गरेका छन् । जिल्लाको मध्य भागका कृषकको मुख्य अन्नबालीमा मध्ये कोदो पर्छ । कोदोबालीमा हावाहुरी र पानीले क्षति पुर्याएपछि घरपरिवार चलाउन समस्या हुने थुलुङदूधकोशी गाउँपालिका–७ का किसान बासुदेव खत्रीको भनाइ छ । जिल्लामा गत वर्ष २ हजार १ सय ५ हेक्टर क्षेत्रफलमा २ हजार ८ सय ३० मेट्रिकटन कोदो उत्पादन भएको भएपनि यस वर्ष १० प्रतिशत भन्दा बढीले उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।