INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको ज्यादती विरुद्ध मानव अधिकार आयोगमा उजुरी

कात्तिक १६ गते वीरेन्द्रनगर नगरपालिकाको शिक्षा शाखामा आन्दोलनका क्रममा ताला लगाउन गएका कृष्णसाधारण माध्यामिक विद्यालयका अभिभावक बखतबहादुर शाहीलाई प्रहरीले हातमा हतकडी लगाई अति संवेदनशील अंगमा प्रहार गरी शक्त घाइते बनाएको भन्दै पीडितले कात्तिक १८ गते राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख मोहनजंग बुढथापाको निर्देशनमा नगर प्रहरी प्रमुख राजन भट्टराई सहितको प्रहरी टोलीले आफूलाई हातमा हतकडी लगाएर कुटपिट गरी अति संवेदनशील अंगमा गम्भीर चोट लागेको शाहीले बताउनु भयो ।

उहाँले स्थानीय माया नसिंङ्ग होममा उपचार गराइरहेको बताउनु भयो ।

वीरेन्द्रनगर नगरपालिकाको सरुवाको विरोधमा शिक्षक तथा विद्यालय व्यवस्थापन समितिहरूले गरेको आन्दोलनमा प्रहरीले न्यूनतम् मानव अधिकारको पनि ख्याल नगरी कुटपिट गरेको पीडितको आरोप छ ।

उहाँका अनुसार मानव अधिकार आयोगसँगै प्रदेश प्रहरी कार्यालय र प्रहरी हेडक्वार्टरमा समेत उजुरी दिइएको छ । ‘म शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको थिएँ । प्रहरीले ठुलै अपराधी झैँ व्यवहार गर्दै हत्कडी लगायो र संवेदनशील अंगमा प्रहार गर्‍यो, ’उहाँले भन्नुभयो, ‘प्रहरीले अनावश्यक बल प्रयोग गरी मानव अधिकारको उल्लंघन गरेको छ ।’

घटनापछि स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिहरूले समेत प्रहरीको व्यवहारप्रति आपत्ति जनाएका छन् । सामुदायिक विद्यालय महासंघ, नेपाल शिक्षक संघ लगायतका आन्दोलनरत सरोकारवालाहरूले कानूनको शासनमा विश्वास राख्दै शान्तिपूर्ण आन्दोलन गर्ने नागरिकमाथि यसरी बल प्रयोग गर्नु प्रहरीको ज्यादती भएको बताएका छन् ।  घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ ।

शिक्षक सरुवामा नगरपालिकाले विभेद गरेको र पाँच वर्षका लागि नियुक्त भएका प्रधानाध्यापकहरूलाई एक वर्षमै पदबाट हटाएको विरुद्धमा वीरेन्द्रनगरका शिक्षक तथा अभिभावकहरू आन्दोलित भएका थिए । नगरपालिकाले विद्यार्थी संख्या, विद्यालयका आवश्यकता र नगर शिक्षा ऐनलाई टेकेर शिक्षकहरूको सरुवा र दरबन्दी मिलान गरिएको जनाएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले कात्तिक १७ गते पत्रकार सम्मेलन गर्दै आफूहरूले शिक्षक सरुवा र दरबन्दी मिलानमा अन्याय नगरेको दाबी गर्नुभएको थियो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो