फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा १ हजार ४ सय १२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा असोज १० गतेदेखि कात्तिक १८ गतेसम्म ९ सय १२ पुरुष र ५ सय महिला गरी कुल १ हजार ४ सय १२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ७०/८० जनाको हाराहारीमा दर्ता गर्न आउने गरेका छन् । जिल्लामा एउटामात्रै ठाउँबाट मतदाता नामावली दर्ता गरिएकाले जिल्लाका दुरदराजमा रहेका नागरिकलाई अपायक परेको भन्दै गुनासो आउन थालेको पनि सूचना अधिकारी कवरले बताउनुभयो ।
हाल जिल्लामा घोराहीस्थित कार्यालयबाटमात्रै नामावली दर्ता भइरहेको छ । कार्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा असोज १० गतेदेखि कात्तिक १८ गतेसम्म १८ हजार ६ सय ८० जनाले नामावली दर्ता गरेको जानकारी दिएको छ । निर्वाचन कार्यालयले विगतका निर्वाचन जस्तो यसपाली राजनीतिक दलहरुले मतदाता नामावली दर्तामा चासो नदिएको जनाएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दलहरुले बस रिजर्व गरेर नागरिकलाई कार्यालयसम्म ल्याउने गरेका थिए ।