INSEC Online

📅 २०८३ जेष्ठ २१

तुलसीपुर कारागारका ७५ कैदी अझै फरार

जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका तुलसीपुर कारागारका ७५ जना कैदी, वन्दी अझै फरार रहेका छन् । 

आठ जना विदेशीसहित ७५ जना कैदी,वन्दी फरार रहेको तुलसीपुर कारागारका जेलर गिरबहादुर सेजुवालले जानकारी दिनुभयो । पछिल्लो पटक ०८२ कात्तिक १५ गते सल्यानबाट एक र कैलालीबाट एक गरी दुई जनालाई प्रहरीले गिरफ्तार गरेको उहाँले जानकारी दिनुभयो । यी दुइसहित तुलसीपुरबाट भागेका १ सय ७८ जना गिरफ्तार भइसकेका छन भने ८ जना विदेशीसहित ७५ जना फरार भएको जेलर सेजुवालले जानकारी दिनुभयो ।

०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट जेल तोडेर २ सय ५३ जना कैदी, वन्दी भागेका थिए । गिरफ्तार भएकामध्ये २३ जना विभिन्न जिल्लाका कारागारमा राखिएको पनि जेलर सेजुवालले जानकारी दिनुभयो । उनीहरुलाई कैलाली,सल्यान, कपिलवस्तु, प्यूठान, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला कारागारमा राखिएको र केही समयपछिमात्रै दाङ ल्याइने जेलर सेजुवालले जानकारी दिनुभयो । फरार भएका कैदी वन्दीलाई गिरफ्तार गर्न सम्वन्धित जिल्ला प्रहरी कार्यालयमा पत्र पठाइसकिएकाले उनीहरुको खोजी भइरहेको तुलसीपुर कारागार कार्यालयले जनाएको छ । 

जयनारायण पुन

अन्य

भिडियो