बागचौर नपा–१ घरभई सोही नपा–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीय विशाल बस्नेतलाई पुस १८ गते सोही विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक ४९ वर्षीय तुलसीराम बस्नेत र अर्का शिक्षक ४० वर्षीय यामबहादुर घर्तीले कुटपिट गरेका छन् ।
शिक्षकको कुटपिटबाट पेट, टाउको र छातीमा चोट लागेका बालकको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दिउँसो १२ बजेतिर विद्यालयको चौरमा बालक बस्नेत र अर्का एक विद्यार्थी बिच सामान्य झगडा हुँदा सहायक प्रधानाध्यापक बस्नेत र अर्का शिक्षक घर्तीले कुटपिट गरेको विद्यार्थीका बुवा तेजबहादुर बस्नेतले बताए ।
दुई/तीन पटकसम्म पिटदा आफूले थाहा पाएपनि पछि बेहोस भएपछि श्रीनगर ल्याउँदासम्म केही थाहा नभएको पीडितले बताए । हाल घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले विद्यालयमा दुई विद्यार्थी बीच झगडा भइरहेको समयमा शिक्षकहरूले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको हुन सक्ने बताए । तर, नियतवस विद्यार्थीलाई शिक्षकले हातपात नगरेको उनले बताए ।