INSEC Online

📅 २०८३ जेष्ठ २१

समान काममा समान ज्याला पाउनबाट महिला वञ्चित

डोटी जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् ।

‘गैँती र बेल्चा चालउने काम पुरूषले पनि गर्छन र हामी महिलाले पनि सोही प्रकृतिको काम गर्छौँ तर ज्याला पुरूषलाई बढी र महिलालाई कम दिइन्छ ।’–दिपायल सिलगढी नपा–६ की श्रमिक महिला मिना नेपालीले भनिन् ।

उनले भनिन्–‘दिन भरी मरिमरी पुरूपहरूसँगै समान प्रकृतिको काम गर्छौ । ज्यालामा विभेद गरिन्छ । घर जाँदा पतिको हप्पकाई खानुपर्छ ।’

दिपायल सिलगढी नपा–४ की २५ वर्षीया श्रमिक महिला परूली बिकले समान काममा पुरूषलाई दैनिक ५ सय रुपियाँ र महिलालाई ४ सय रुपियाँ मात्रै दिने गरेको गुनासो गरिन् ।

उनले भनिन्–‘पुरूषहरूको तुलनामा हामी महिला मेहनत र इमान्दारीताका साथ श्रम गर्छौँ । तर, ज्याला दिँदा महिला भएकै भएर होला विभेद गरिन्छ ।’

दिपायल सिलगढी नपा–६ की ४५ वर्षीया श्रमिक महिला जगुदेवी बोहराको पनि यस्रहेको तै दुखेसो छ ।  उनी भन्छिन्–‘काम महिलाले पुरुषको भन्दा बढी गर्नु पर्ने तर पैसा महिलालाई कम दिने गर्दछन् । महिलामाथि कति विभेद गरेका छन् ? यो हामीलाई मात्रै थाहा छ ।’

दिपायल सिलगढी नगरपालिकाका उपमेयर शिवबहादुर खड्काले नगरपालिका क्षेत्र भित्र समान कामको फरक ज्याला भएको जानकारी गराएमा सरकारले तोके बमोजिमको ज्याला श्रमिकले पाउने वातावरण बनाउन लाग्ने बताए । उनले भने–‘ठेकदार र मालिकले श्रमिकहरूलाई नियम अनुसार श्रमको ज्याल दिनु पर्छ ।’

समान कामका लागि समान ज्याला पाउने कानुनी व्यवस्था भएकाले समान काममा महिलाहरूले ज्याला कम पाएको उजुरी प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा दिए आफू कारवाही गर्न तयार रहेको डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

हरेक वर्ष प्रमुख जिल्ला अधिकारीको नेतृत्वमामा ज्याला निर्धारण समितिको बैठक बस्ने र हरेक वर्ष समितिले ज्याला निर्धारण गर्ने भएको भए पनि सर्वसाधारण श्रमिकहरूले त्यसका बारेमा जानकारी नभएका कारण श्रमिकहरू थप ज्यालामा ठगिँदै आएका छन् ।

अन्य

भिडियो