भरतपुर महानगरपालिका–२४ धु्रबबजार स्थित माइतीघरमा बस्दै अएकी २० वर्षीया डोल्मा रूम्बालाई ४७ वर्षीय पति वीरेन गुरूङले पुस १८ गते एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
पति पत्नीको घरयासी विवादका कारण विगत २१ दिनदेखि माइतीघरमै बस्दै आएकी पत्नीलाई पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने गुरूङले पोखराबाट ग १ य ५४३ नम्बरको गाडीमा चार जना युवासहित भरतपुरमा आएर एसिड प्रहार गरेको रेग्मीले बताए ।
उक्त घटनापछि फरार रहेका वीरेन सहित पोखरा महानगरपालिका–२९ का ३९ वर्षीय हेम थापा, सोही ठाउँका ४५ वर्षीय नीरेन गुरूङ र हेटौँडा उपमहानगरपालिका–१० का २४ वर्षीय बिवेक गुरूङलाई प्रहरीले नारायणगढ लायन्सचोकबाट पुस १८ गते गिरफ्तार गरी अनुसन्धान सुरू गरेको रेग्मीले बताए ।
गाडीमा प्रयोग हुने एसिड प्रहारबाट रूम्बाको अनुहार र टाउकोमा असर पुगेको छ । एसिड प्रहारबाट घाइते भएकी पीडितको उपचार भरतपुर स्थित चितवन मेडिकल कलेजमा भइरहेको छ ।