भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजीहरूले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा सुनसरीको धरानस्थित भाटभटेनी र मोरङको विराटनगरस्थित भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा फेला परेको शवको अझै खनाखत हुन सकेको छैन ।
जेनजी आन्दोलनका क्रममा धरान उपमहानगरपालिका–१० पुतलीलाइनस्थित भाटभटेनीमा गरिएको आगजनीपछि भदौ २७ गते चार जनाको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको थियो ।
विराटनगर महानगरपालिका–६ मा रहेको भाटभटेनीमा एक जनाको शव पूर्ण रूपमा जलेको अवस्थामा ०८२ भदौ ३० गते फेला परेपनि हालसम्म शवको सनाखत हुन नसकेको हो ।
शवहरू जलेर पूर्णतः कङ्काल अवस्थामा भेटिएकाले पोस्टमार्टम गर्न र मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । हालसम्म ती शवहरू आफ्नो भएको दाबी गर्न कोही पनि आफन्त सम्पर्कमा नआएका कारण पनि शवहरुको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।
धरान र विराटनगरको भाटभटेनीमा फेला परेका सबै शवको पहिचानका लागि डीएनए परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरले जनाएको छ ।
कोशी प्रदेश कार्यालय