INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा चौतारा कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले ०८२ कात्तिक ७ गते चौतारा कारागारको अनुगमन गरेको छ ।

इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल, इन्सेक केन्द्रीय कार्यालयका कृष्ण नेपाल र इन्सेक प्रतिनिधि नातिबावु धितालको टोलीले कारागार अनुगमन गरेको हो ।

५० जना क्षमता रहेको चौतारा कारागारमा ९० जना कैदी र ४३ जना बन्दी गरी १ सय ३३ जना पुरुष राखिएको छ । ठाउँको अभावले महिला बन्दी यस कारागारमा राखिदैन । चौतारा कारागारमा १८ जना नियमित औषधी सेवन गर्ने दीर्घ रोगी रहेका छन् । कारागारमा अधिकांश बलात्कार र हत्या घटनामा संलग्न व्यक्तिहरु रहेको कारागारका नाइके भिमबहादुर बस्नेतले बताउनु भयो । नाइके बस्नेतका अनुसार २० वर्षदेखि ७५ वर्षसम्मका कैदीबन्दीहरु यस कारागारमा रहेका छन् । जेनजी आन्दोलनको समयमा अन्य जिल्लामा रहेको कारागारबाट कैदी बन्दी भागेपछि यस कारागारमा रहेका कैदीबन्दीहरुले पनि बाहिर जान पाउनुपर्ने भन्दै केही समय विवाद गरेका थिए । विवाद गर्ने कैदीबन्दीहरुलाई सम्झाइ बुझाइ गरेपछि उनीहरु शान्त भएको कारागारमा निमित्त जेलर शोभाकान्त तिवारीले बताउनु भयो ।

कारागार भित्र अन्य कुरा समान्य भएपनि आफूहरुलाई दैनिक पाउने ८० रुपियाँले चामल, दाल, तरकारी, नुन लगायतका खाद्यान्न अपुग भएको बन्दी बच्चु सुनारले बताउनु भयो ।
चाडपर्व खर्च ३ सय रुपियाँ आफूहरुलाई अपुग भएकोले यसबाट बढाउनुपर्ने कैदीबन्दीको माग रहेको कैदी मोहन गिरीले बताउनु भयो ।

आफ्नो मुद्दा के भइरहेको छ भन्ने कुराको सूचना आफूले पाउन नसकेको भन्दै त्यसको सहजिकरण गरिदिन बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ७० वर्षीय कामी तमाङको माग रहेको छ ।

०७२ सालको भुकम्पले ध्वस्त भएको कारागारको भवन पुनःनिर्माण नहँुदा कैदीबन्दीहरुलाई बस्न समस्या भएको कारागारका नाइके भिमबहादुर बस्नेतले बताउनु भयो ।

अनुगमनको क्रममा कैदी बन्दी तथा आन्तरिक प्रशासन साथै कारागार कार्यालयले राखेको समस्या तथा सुझावहरुलाई सम्बन्धित निकायमा सम्पे्रषण गर्ने संयोजक खकुरेलले बताउनु भयो ।
अनुगमन टोलीले कारागार भित्र रहेको गलैचा उद्योग, मुढा उद्योग र कैदीबन्दीहरु बस्ने, सुत्ने तथा खाने ठाउँको समेत अनुगमन गरेको थियो ।

नातिबावु धिताल

अन्य

भिडियो