जिल्लामा दुई हजार ६ सय २२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या ६ लाख ८२ हजार ९ सय ९३ पुगेको छ । यसअघि झापामा ६ लाख ८० हजार ३ सय ७१ जना मतदाता थिए ।
अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ । “मतदाताको सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,” सूचना अधिकारी न्यौपानेले भन्नुभयो– “एकै दिन ३ सय जनासम्म मतदाताको सूचीमा नाम दर्ता गराउन आउने गर्नुभएको छ । नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ ।” ०८२ कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको संख्या २ हजार ६ सय २२ पुगेको हो । कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।
रासस