रामेछापको सुनापति गाउँपालिका–३ मा खानी खोलाबाट सुरु भएको ठुलो पहिरोले पुरै जमिन सर्न थालेपछि चार गाउँका करिब ९० घर परिवार उच्च जोखिममा परेका छन् । केउरिनी, साउने, नागासिवा र च्याम्दुङ गाउँका बासिन्दा जोखिम मोलेर अझै पनि बस्तीमै बसिरहेका छन् ।
सुनापति गाउँपालिका–३ साउनेका स्थानीय राम श्रेष्ठका अनुसार खानी खोलाबाट सुरु भएको पहिरो अहिले सुनापति डाँडासम्म फैलिँदै गएको छ । ‘यो ठाउँ पहिले पनि पहिरो थियो, गत वर्ष असोज दोस्रो सातामा आएको बाढी–पहिरोले जमिन कमजोर बनायो, अहिले असोज १७, १८ र १९ गतेको लगातार वर्षाले जताततै पानीका मूल फुटेका छन्, जसका कारण जमिन बिस्तारै बग्न थालेको छ , जमिन बग्न थालेपछि गाउँका घर चर्किन र भत्कन लागेका छन्’, उहाँले भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार साउने र केउरेनीका बस्तीहरू सबैभन्दा बढी जोखिममा छन् । त्यसपछि च्याम्दुङ र नागासिवा गाउँका बासिन्दा पनि असुरक्षित भएका छन् । ‘अहिले जताततै पानीका मूल फुटेका छन्, जमिन बिस्तारै सर्दै गएको छ’, उहाँले भन्नुभयो ।
हाल हिलेदेवी क्षेत्रमा रहेका करिब ९० घर परिवार उच्च जोखिममा परेपछि गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिले अनुगमन सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठका अनुसार मुख्य समस्या वडा नं ३ का केउरेनी, साउने र च्याम्दुङ बस्तीमा छ । ‘यी गाउँहरूभन्दा तल बग्ने खानी खोलाबाट सुरु भएको पहिरोले पुरै जमिन बग्न थालेपछि माथिल्ला बस्तीहरू जोखिममा परेका छन्,’ उहाँले भन्नुभयो ।
श्रेष्ठका अनुसार पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले वडा नं ३ का वडा अध्यक्ष कुलबहादुर थिङको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले अनुगमन कार्य सुरु गरिसकेको छ र जोखिमग्रस्त घरहरूको सूचीकृत प्रक्रिया अघि बढाइरहेको छ । स्थानीयहरूले तत्काल वैकल्पिक वासस्थानको व्यवस्था र जोखिम न्यूनीकरणका लागि प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूका अनुसार अब ढिलो भयो भने पूरै बस्ती बग्न सक्छ ।
नवराज पथिक