वीरेन्द्रनगर नपा–२ की १८ वर्षीया बालिका अमृता बुढालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै विरेन्द्रनगर नपा–७ का ३० वर्षीय कृष्णप्रसाद काफ्ले र उनकी पत्नी २७ वर्षीया कृष्णा काप्फ्लेलाई प्रहरीले गिरफ्तार गरेको छ ।
अमृताकी सानीआमा कृष्णा काफ्लेकी दुई वर्षीया छोरीमाथि कथित बोक्सी लागेको भन्दै आमा टीका बुढाकै अगाडि पुस ८ गते कृष्णाले मसान चढेको निहुँमा काम्दै तातो पन्युले शरीरभरी डामेको घटनालाई लुकाउन खोजेको जानकारीपछि प्रहरीले उनीहरुलाई पुस १३ गते घरबाटै गिरफ्तार गरेको हो ।
कृष्णा काफ्लेको घरमा बस्दै आएकी अमृतालाई कुटपिट गरिएको घटनालाई आफन्तको भनी झण्डै एकसाता सम्म गुपचुप राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार पन्युले डाम्दा अमृताको मुख, अनुहार, गोडा र ढाड पोलिएको छ । पन्युले डामेको घाउ गम्भीर बन्दै गएपछि उनका बुबा लुन बुढाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुईदिन पछि मात्र उपचार गर्न लगेका थिए । अमृता उपचारपछि पुस १३ गते घरमा फर्किएपनि हिँडडुल गर्ने अवस्थामा छैनन् ।
आफन्त बीचको घटना भन्दै घरभित्रै मिलाउने तथा घटना गुपचुप राख्न खोजेकोप्रति अमृता चिन्तित छिन् । अमृता भन्छिन–‘म माथि अत्याचार भएको छ म न्याय चाहान्छु ।’
आमाकै अगाडि तातो पन्युले डाम्ने सानी कृष्णालाई कानुन बमोजिम कारवाही गरिनुपर्ने अमृताले बताइन् ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले आरोपितहरूलाई हिरासतामा राखी आवश्यक अनुसन्धान भइरहेको, आफन्त बीचको घटनालाई लुकाउन नमिल्ने र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याएरै छोडने बताए ।