कास्कीमा जेनजी आन्दोलनका क्रममा पोखरामा तीन जनाको मृत्यु भएको र ९२ जना घाइते भएका छन् । आन्दोलनका क्रममा पोखरामा सरकारी कार्यालय तथा निजी सम्पतिमा तोडफोड गर्ने क्रममा तीन जनाको मृत्यु भएको थियो ।
आन्दोलनका क्रममा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका–१० का ४३ वर्षीय विजय लामा रहेका छन् । कास्की प्रहरीका अनुसार उनी २४ गते राति जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको तोडफोड र आगजनीको क्रममा घाइते भएका थिए । प्रहरी कार्यालयको ग्यास पड्केर उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको थियो ।
तनहुँ घर भए पनि लामा पोखरा महानगरपालिका– १६ मा बस्दै आएका थिए । उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइए पनि उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
आन्दोलनमा सहभागी नभएका थप दुई जनाको पनि मृत्यु भएको छ । प्रदर्शनकारीले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको लेकसाइड स्थित अंशुभरा ग्रुपको व्यावसायिक भवनमा आगजनी गर्दा २६ वर्षीया स्वस्थानी खड्काको मृत्यु भएको थियो । स्वस्थानी सोही भवनमा सञ्चालनमा आएको स्पामा काम गर्थिन् । उनको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका–८ रहेको प्रहरीले जनाएको छ ।
अर्की मृत्यु हुनेमा ३५ वर्षीया सञ्जु नगरकोटी हुन् । उनी बिन्दु थापाका भाइ ध्रुव थापाले नयाँबजारमा चलाएको अटो सोरूममा भएको आगजनीको शिकार भएकी थिइन् । सोही आगजनीमा जलेर उनको मृत्यु भएको थियो । तलबाट आगलागी हुँदा भवनभित्र उनको जलेर मृत्यु भएको थियो । नगरकोटीले केही समयअघि मात्र सोरूममा काम थालेकी थिइन्, त्यसअघि उनी घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन् । उनको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको प्रहरीले जनाएको छ ।
सञ्जय रानाभाट