INSEC Online

📅 २०८३ जेष्ठ २१

बझाङ जिल्ला कारागारबाट भागेका १२ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्

०८२ भदौ २४ गते गरिएको आन्दोलनका क्रममा बझाङ जिल्ला कारागार तोडफोड गरी भागेका मध्ये १२ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । जेनजी आन्दोलनका क्रममा बझाङ जिल्ला कारागारबाट भदौ २४ गते ६५ जना कैदीबन्दीहरुले जेल तोडेर भागेका थिए ।

८५ जना कैदीबन्दी रहेको कारागारका २० जना भने उक्त समयमा पनि कारागारमै रहेका थिए । भागेकामध्ये ४० जना स्वस्फुर्त रुपमा कारागारको सम्पर्कमा आएका र १३ जनालाई गिरफ्तार गरिएको बझाङ जिल्ला कारागारका जेलर राजेन्द्रबहादुर फराडाले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘फरार रहेकाहरूको पनि खोजी भइरहेको छ । छिट्टै उनीहरूलाई गिरफ्तार गर्छौ ।’ आन्दोलनका बेला कारागार तोडफोड गर्ने योजनाकार रहेका पाँच जनालाई बझाङ जिल्ला कारागारबाट धनगढी, बैतडी र डडेल्धुरा जिल्लाका कारागारमा स्थानान्तरण गरिएको र केहीलाई बाँके पठाउने तयारी भइरहेको फराडाको भनाइ छ ।

कारागार प्रशासनले फरार अवस्थामा रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनर्स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्ने भन्दै फरार कैदीबन्दीलाई स्वयं सचेत भएर फर्किन पनि अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय, बझाङले पनि सार्वजनिक सूचना जारी गर्दै फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

फरार हुँदा स्वयं कैदीबन्दीलाई नै बढी समस्या हुने र थप सजायसमेत हुने भएकाले स्वयं सम्पर्कमा आएको खण्डमा सजायमा सहुलियत हुने भन्दै सम्पर्कमा आउन आग्रह गरिएको र फरार कैदीबन्दीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र धमलाले बताउनु भयो ।

सत्यराज सिंह

अन्य

भिडियो