INSEC Online

📅 २०८३ जेष्ठ २२

आठ महिनादेखि वडा कार्यालय बन्द, सेवाग्राही मर्कामा

खाँडाचक्र नपा-८ को वडा कार्यालय आठ महिनाबाट नखुलेपछि स्थानीय सेवाग्राहीहरू मर्कामा परेका छन् ।

वडा नम्वर ८ स्थित नुवाखेतमा राखिएको वडा कार्यालय ०७५ जेठ महिनादेखि स्थानीय र वडाअध्यक्षविच बिवाद भएपछि कार्यालय खुल्न नसकेको हो ।

वडाध्यक्षले कार्यालय आफूलाई पायक पर्ने ठाउँमा सार्न खोजेको र स्थानीय गाउँलेहरूले सार्न नदिएपछि वडा कार्यालय बन्द अवस्थामा रहेका कारण सेवा लिने नागरिकहरूले जनप्रतिनिधिको घर-बास धाउनु पर्ने बाध्यता रहेको छ ।

‘कार्यालय बन्द अवस्थामा छ । सिफारिस गर्नु पर्दा र अन्य कुनै काम लिनु पर्दा वडाध्यक्ष, कर्मचारीको घरवासमा पुगिरहेका छौँ ।’-स्थानीय मन्दिरे सार्कीले भने-‘घर घरमा सिंहदरबार भन्थे जनप्रतिनिधिको घरमा, खेतमा गाइगोठमा पुगेर सेवा लिनु पर्ने भयो ।’

यस वडामा पर्ने सेरवाडा, ऐछेना चिमगाउँका बासिन्दाहरू जन्म दर्ता, मृत्यु दर्तालगायत अन्य कुनै सेवा लिनु परेमा तीन घण्टाको पैदल यात्रा गरेर वडाध्यक्षको घरमा पुग्नु पर्ने बाध्यता झेल्दै आएका छन् ।

अलि राम्रो सुविधा सम्पन्न, सबैलाई पायक पर्ने घरमा कार्यालय सार्न खोज्दा स्थानीयले अटेर गरिरहेका कारण आफैँ दुख झेलिरहनु परेको वडाध्यक्ष आदिचन्द्र चौलागाईँ बताउँछन् ।

कार्यालय आफ्ना कारणले भन्दा पनि गाउँलेका कारणले लामो समयसम्म बन्द भइरहेको उनको भनाइ रहेको छ ।

खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले आठआठ महिनासम्म वडा कार्यालय बन्द हुनु दुःखद् भएको भन्दै यसका बारेमा तत्काल बुझेर समस्या समधानतिर लाग्ने बताए ।

उनले जनताहरूलाई घरघरमा सेवा दिनुपर्नेमा लामो समयसम्म कार्यालय बन्द गर्नु वडाध्यक्षको कमजोरी भएको औँल्याए ।

अन्य

भिडियो