जेनजी आन्दोलनमा म्याग्दी जिल्ला कारागारबाट भागेका ७६ जना कैदीबन्दी मध्ये पाँच जना र पर्वत जिल्ला कारागारबाट भागेका १९ जना मध्ये ६ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
जिल्ला कारागार शाखा म्याग्दीमा भदौ २५ गते तोडफोड गरेर भागेका ७६ जना कैदीबन्दी मध्ये ७१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि पाँच जना भने अहिलेसम्म फरार रहेका छन् । जिल्ला कारागार म्याग्दीका जेलर प्रतिज्ञा सुवेदीका अनुसार हालसम्म ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र २७ जना आफै सम्पर्कमा आएका थिए ।
कारागारबाट भागेकाहरु मध्ये हालसम्म ७१ जनालाई प्रदेश अस्पताल बेनीमा स्वास्थ्य परीक्षण पछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कारागारमा ल्याएर बुझाएको जेलर सुवेदीले बताउनु भयो ।
यसैगरी जिल्ला कारागार पर्वतबाट भागेका १९ जना मध्ये १२ जनालाई पर्वतबाटै र एक जनालाई दाङबाट नियन्त्रणमा लिइएको जेलर नविन सुवेदीले बताउनु भयो । उहाँका अनुसार अझै ६ जना फरार रहेका छन् । फरार रहेका मध्ये चार जना बलात्कार कसुर, एक जना सहकारी ठगी र एक जना कर्तव्य ज्यानका रहेको जेलर सुवेदीले जानकारी दिनुभयो ।
अमृतप्रसाद पौडेल